कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीमा महतो



महेन्द्रनगरः गृहमन्त्रालयले रामकुमार महतोलाई प्रमुख जिल्ला अधिकारी कञ्चनपुरको जिम्मेवारी दिएको छ ।

सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकार भन्दा बाहिर गएको अभिव्यक्ति दिएकोमा प्रजिअ नुरही खतिवडाप्रति असन्तुष्ट गृह मन्त्रालयले आज बिहान कञ्चनपुरबाट गृहमन्त्रालयमा तानेको थियो ।

खतिवडाको ठाउँमा महतोलाई गृहमन्त्रालयले प्रजिअको जिम्मेवारी दिएर पठाएको हो । लोकसेवा आयोग मार्फत पियनबाट राष्ट्र सेवा सुरु गरेका रामकुमार महतो सहसचिव बन्न सफल भए । धनुषा जिल्ला स्थायी घर भएका ४१ वर्षीय महतोले ४ वटा विषयमा मास्टर्स गरेका छन् ।

उनी पियनबाट निजामती सेवा प्रवेश गरी सहसचिव हुन सफल अपवाद व्यक्ति हुन् । पियनदेखि सहसचिवसम्मको यात्रा राष्ट्रसेवाको लागि पद मात्र ठूलो कुरा होईन । निष्ठापूर्वक सेवा र परिश्रम गर्दै गयो भने पद, प्रतिष्ठा र अवसर खोजी रहनु पर्दैन, आफैं आउँदो रहेछ, प्रजिअ महतोले सामाजिक सञ्जालमा लेखेका छन्,‘त्यति बेला मसँग एसएलसीको सर्टिफिकेट मात्र थियो, अहिले ४ वटा विषयमा मास्टर्स (अर्थशास्त्र, समाजशास्त्र राजनीतिशास्त्र र जनप्रशासन र एलएलबी ) गरी सहसचिव पदमा नियुक्त भएको छु ।’

‘लोक सेवा आयोगप्रति हार्दिक आभार र उच्च सम्मान प्रकट गर्दछु, पथ प्रदर्शक र सुभेच्छुक सबैप्रति आभारी छु । देशको सेवा गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको छ । निष्ठापूर्वक सेवामा समर्पित हुने नै छु ।’ फेसबुकमा महतो लेखेका छन् ।

प्रकाशितः १८ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्