मास्कको जथाभावी विसर्जनले संक्रमणको जोखिम बढ्दो



सिन्धुलीमाढी : सिन्धुली जिल्लामा प्रयोग गरिसकेको मास्क जथाभावी विसर्जनले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ ।

जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि सडक, सडकपेटी र गल्लीमा जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम बढाएको स्थानीयको गुनासो छ ।

प्रयोग गरिसकेको मास्कको उचित विसर्जन हुन नसक्दा मास्कको भित्री भागमा थुक, र्याल, सिगान र बाहिरी भागमा अरूको थुकको छिटा परेको हुनसक्ने भएकोले सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् । आमनागरिकले मास्कको उचित प्रयोग र विसर्जन नगर्दा यसको जोखिम बढ्नसक्ने देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साहले बताउनुभयो । उहाँले मास्क प्रयोग र विसर्जन राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, प्रयोग गरी सकेपछि मास्कलाई जथाभावी फाल्नु हुँदैन । जसरी फोहोर मैला विसर्जन गरिन्छ, प्रयोग गरेको मास्क पनि त्यसरी नै विसर्जन गरिनु पर्छ अथवा जलाउनु पर्छ ।

जिल्लामा कोरोना भाइरसको जोखिम बढी रहेकाले सङ्क्रमण भएको व्यक्तिले फालेको मास्कबाट अरूमा सङ्क्रमण हुनसक्ने उहाँको भनाइ छ । कार्यालयका अनुसार प्रयोगको बानी परी नसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनु पर्नेमा त्यस्तो कम देखिएको छ । कार्यालय प्रमुख साहले भन्नुभयो, कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन्, त्यो झन् खतरा हो ।

उहाँले भन्नुभयो, मास्क जति बढी प्रयोग गर्यो, त्यति नै सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । यसको उचित व्यवस्थापन हुन नसकेमा सङ्क्रमण फैलन सक्छ ।

उहाँका अनुसार आफू सङ्क्रमित हो भने भित्रको भाग र आफू सङ्क्रमित छैन भने बाहिरको भागमा कोरोना सङ्क्रमण हुनसक्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्