जि २० का विदेशमन्त्रीको भर्चुअल बैठक : सीमाहरु खोल्नुपर्नेमा जोड



रियाद : विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन् ।

बिहीबार साउदी अरेबियाद्वारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरुले यस विषयमा जोड दिएका हुन् । हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको भन्दै यसबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले उनीहरुले यो आग्रह गरेका हुन् ।

त्यस बैठकका क्रममा उक्त संगठनका विदेशमन्त्रीहरुले देशका सीमाहरु खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरु अपनाएर सीमा खोल्नुपर्ने बताएका हुन् ।

सो बैठकमा सहभागी भारतका विदेशमन्त्री एस जयशंकरले विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्यका मापदण्डहरु अपनाउनुका साथै स्तरीय परीक्षण विधिका बारेमा पनि छलफल भएको बताए ।

उनले महामारीपछि जतिसक्दो चाँडो जि २० मा सहभागी देशहरुले आफ्ना देशमा सीमाहरु खोल्नुपर्नेमा सबैको एकमत रहेको बताए । साउदी अरेबियाको पहलमा जि २० को भर्चुअल बैठकको आयोजना गरिएको थियो । शुक्रबार आयोजना गरिएको सो बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरुको सहभागिता थियो ।

सो बैठकमा सबै देशका विदेशमन्त्रीहरुले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका संक्रमितहरुको स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्