जारी निषेधाज्ञा परिमार्जन गर्ने तयारी



काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही परिमार्जन गर्ने तयारी भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गतेबाट जारी निषेधाज्ञा आज (बुधबार) राति १२ बजेबाट सकिँदै छ । तर, क्रमशः निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप केही परिमार्जन गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको दाबी गरेका छन् । ‘निषेधाज्ञा’ केही परिमार्जन गर्ने वा यथावत् राख्ने विषयमा बुधबार मात्र निर्णय हुनेछ । उनले निषेधाज्ञा परिमार्जन गरिएसंँगै आउन सक्ने सम्भावित महामारी संक्रमणसम्बन्धी समस्या र चुनौतीका विषयमा छलफल जारी रहेको बताएका छन् ।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारीलगायत सम्बद्ध अधिकारीबीच निषेधाज्ञाको विषयमा छलफल भएको थियो ।

छलफलमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विषयमा छलफल भएको थियो ।

निषेधाज्ञा परिमार्जनका विषयमा उठेका विषयमा थप स्पष्ट पार्न तथा परिमार्जन गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृह सचिव महेश्वर न्यौपानेसँंग मंगलबार छलफल गरेका हुन् ।

हिन्दूहरुको महानचाड दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्व नजिकिँदै गएकाले कोरोनाको महामारी भयावह हुन नदिन कसरी अगाडि बढ्ने तथा उद्योग व्यवसाय सञ्चालन र बजार खुला राख्ने विषयमा मापदण्ड तोक्ने तयारी भएको छ ।

एक सुरक्षा अधिकारीका अनुसार निषेधाज्ञा परिमार्जन गरिएसँंगै उपत्यकामा कोरोना संक्रमण भयावह हुने सम्भावना छ तर त्यस्तो अवस्था आउन नदिन पीसीआर परीक्षण, क्वारेन्टाइन र संक्रमितका लागि आइसोलेसनको व्यवस्था गर्ने विषयमा गम्भीर छलफल भएको छ ।

प्रकाशित : भदौ २४, २०७७

प्रतिक्रिया दिनुहोस्