निषेधाज्ञाको मोडालिटी परिवर्तन हुँदै : सवारीमा जोरबिजोर, कार्यालय र उद्योग खुल्ने



काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाको समय बढ्दै जाँदा सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ।

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञाको समय बुधबार राति १२ बजेबाट सकिँदै छ। निषेधाज्ञा थप थप गर्ने वा खुकुलो पार्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ। मंगलबारको बैठकमा विभिन्न विकल्पमाथि छलफल भएको एक सुरक्षा अधिकारीले जानकारी दिए।

बैठकमा सहभागी ति सुरक्षा अधिकारीका अनुसार उपत्यकामा निजी सवारी साधन जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने, निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्नेगरी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुन लागेको हो।

उपत्यकामा तीन सातासम्म निषेधाज्ञा हुँदासमेत संक्रमण नियन्त्रण होइन कम समेत हुन नसक्दा यसको समय बढाउनुपर्ने राय सीडीओले सार्वजनिक गर्दै आएका थिए। सीडीओले यस्तो बताए पनि निषेधाज्ञाविरुद्ध सामाजिक आक्रोश बढ्दै जाँदा यसको मोडालिटी परिवर्तन हुन लागेको हो।

सोमबार मात्र गृह मन्त्रालयले सुरक्षा मापदण्ड अपनाएर निषेधाज्ञालाई खुकुलो पार्नुपर्ने सुझाव दिएको थियो।

नयाँ मोडालिटीका विषयमा मंगलबार तीनै जिल्लाका सीडीओ र सुरक्षा निकायका प्रमुखबीच छलफल भएको हो। संक्रमणको ग्राफ बढ्दै जाँदा मन्त्रालय र सुरक्षा निकायले निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने धारण राखेका भए पनि यसको मोडालिटी परिवर्तन हुन लागेको ति अधिकारीको भनाइ छ।

सीडीओसँगको छलफलमा यही मोडलको निषेधाज्ञा एक साता थप गर्ने विषयमासमेत छलफल भएको थियो। आम सर्वसाधारण र नागरिकको आवाजलाई सम्बोधन गर्नेगरी बुधबार रातिबाट लागू हुने गरी नयाँ मोडलमा निषेधाज्ञा हुन लागेको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्