समूह र परिवारमा देखिन थाल्यो कोरोना संक्रमण



काठमाडाैं : निषेधाज्ञाका कारण सर्वसाधारणको आवतजावत कम भए पनि काठमाडौं उपत्यकामा समूह–समूहमा संक्रमण देखिन थालेको छ ।

यसअघि सीमित समूहमा मात्र देखिने गरेकामा पछिल्लो समय समूहगत संक्रमणको मात्रा बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । यसअघि पनि प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अस्पतालमा समूहमै संक्रमण देखिएको थियो । पछिल्लो समय एउटै परिवारका सबैजसो सदस्यमा संक्रमण देखिन थालेको हो ।

निषेधाज्ञापछि अस्पताल, स्वास्थ्य संस्था, प्रहरी, नेपाली सेना, कारागारका कैदी र तिनको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा संक्रमण बढेको हो । एउटै परिवार र टोल–टोलमा कोरोना देखिनेको संख्या बढेको ईडीसीडीले जनाएको छ ।

‘निषेधाज्ञापछि समूह र परिवारभित्र संक्रमण फैलिएको छ,’ ईडीसीडीका जनस्वास्थ्य विज्ञ उत्तमकुमार कोइरालाले भने, ‘सर्वसाधारणको आवतजावत न्यून भएपछि परिवारभित्रै, विभिन्न संघसंस्था र कार्यालयका कर्मचारीमा संक्रमण बढेको छ । अझै पनि हामीले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपायहरू प्रभावकारी रूपमा अपनाएको देखिँदैन ।’

निषेधाज्ञाको तेस्रो सातामा पनि दैनिक ४ सयदेखि ५ सय जनाको हाराहारीमा संक्रमित देखिएको उनले बताए । स्रोतका अनुसार बुधबार काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५ सयभन्दा बढी छ । जसमा एक सयभन्दा बढी सुरक्षाकर्मी छन् । ट्राफिक प्रहरी महाशाखा, सोह्रखुट्टे प्रहरी, तालिम केन्द्र महाराजगन्जलगायत स्थानका सुरक्षाकर्मीमा संक्रमण देखिएको हो ।

ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले पछिल्लो तथ्यांकले संक्रमित महिलाको प्रतिशत बढेको, परिवारमा बच्चादेखि वृद्धासम्म र प्रहरी ब्यारेकमा संक्रमण देखिएको बताए । ‘पहिला परिवार र टोलमा एक–दुई ठाउँ देखिन्थ्यो, अहिले समूह–समूहमै देखिएको छ,’ उनले भने ।

प्रहरीहरूमा सबैभन्दा बढी संक्रमण देखिएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा ६ सय ७९ प्रहरी सक्रिय संक्रमित छन् । प्रहरी अस्पतालमा मात्रै उपचाररत संक्रमित प्रहरी ३ सय ८५ जना छन् ।

लक्षण नभएका ९५ जना मनमोहन अस्पताल दहचोकमा र ५९ जना आयुर्वेद तालिम केन्द्रमा छन् । ‘यसबाहेक उपत्यकाका अन्य अस्पतालमा पनि संक्रमित प्रहरीको उपचार गरिरहेका छौं,’ महानगरीय प्रहरी कार्यालयका एक प्रहरीले भने । सातदोबाटो, सोह्रखुट्टे र महाराजगन्ज प्रहरी वृत्तमा अन्यत्रको तुलनामा बढी संक्रमित छन् । महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरमा १५ जनालाई संक्रमण देखिएको थियो ।

उनीहरूको पनि मनमोहन अस्पतालमा उपचार भइरहेको छ । देशैभरि २ हजार ४ सय १३ जना प्रहरी संक्रमित रहेकामा कोरोना निको नभएका १ हजार २ सय ९९ जना छन् ।

नेपाली सेनामा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं महानगरपालिकाको कोरोना संक्रमित व्यवस्थापन इकाइले दिएको जानकारीअनुसार सेनाको छाउनीस्थित कार्यालय र अस्पतालमा संक्रमित बढी देखिएका छन् ।

काठमाडौं महानगरपालिका–१५ की जनस्वास्थ्य अधिकृत उमा बस्नेतले छाउनीको सैनिक इलाकामा भदौ ९ देखि संक्रमण देखिन थालेको बताइन् । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले वीरेन्द्र सैनिक अस्पतालमा ७७ जना स्वास्थ्यकर्मी संक्रमित भएको बताए ।

यसबाहेक उपत्यकामा १ सय ९ जना सैनिक संक्रमित छन् । २७ जना निको भइसकेका छन् । संक्रमित सैनिकलाई राख्न सूर्यविनायकमा छुट्टै आइसोलेसन सेन्टर बनाइएको उनले बताए । उनका अनुसार सैनिकहरूलाई मनमोहन अस्पतालको आइसोलेसनमा पनि राखिएको छ । जेठ ३ देखि मंगलबारसम्म मुलुकभर ९ सय ६४ सैनिकमा कोरोना संक्रमण देखिएकामा २ सय ७३ जना निको भएको उनले जानकारी दिए ।

सुरक्षा निकायमा जस्तै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । वीर अस्पतालमा मात्रै पछिल्लो तीन सातामा ७६ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित छन् । यसमध्ये १३ जना चिकित्सक छन् । साउनसम्म ५ जना मात्रै संक्रमित भएकामा भदौमा संक्रमितको संख्या बढेको हो । संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीमध्ये ३२ जना वीर अस्पतालकै आइसोलेसनमा उपचाररत छन् । संक्रमण केही बाहिरबाट आएको र केही अस्पतालभित्रैबाट बढेको अस्पतालका कोरोना फोकल फर्सन डा. अच्युत कार्कीले बताए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका कर्मचारीमा समेत कोरोना देखिएको छ । आरोग्य फाउन्डेसनमा पनि संक्रमितको संख्या बढिरहेको छ । फाउन्डेसनमा १२ जना संक्रमित भइसकेका छन् । उनीहरूलाई कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रको आइसोलेसनमा राखिएको छ ।

नेकपाका एक नेताको घरमा कामदार र सुरक्षाकर्मीसहित १७ जनालाई कोरोना पुष्टि भएको छ । समूहमा संक्रमित हुनेमा केन्द्रीय कारागारका कैदी र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि छन् । बाहिर घुमफिर र बाहिरका मान्छेसँग भेट नभए पनि जेलमा संक्रमित थपिएको थपियै छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार केन्द्रीय कारागारमा ५८ जना अझै निको भएका छैनन् ।

संक्रमितमध्ये ३९ जना कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रमा उपचाररत छन् । कारागार सुरक्षामा खटिएका २५ जना प्रहरी दहचोकस्थित मनमोहन अस्पतालको आइसोलेसनमा छन् ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कार्यालयका कर्मचारी मात्रै नभई समुदायस्तरमा पनि परिवारै संक्रमित भएका छन् । भक्तपुरको बोडेमा एक पुरुषलाई सुरुमा संक्रमण देखिएको थियो । त्यसपछि त्यही परिवारका १४ जना संक्रमित भएका छन् ।

काठमाडौंको डल्लुमा पनि एउटै घरका ९ जना संक्रमित भएको पाइएको काठमाडौं महानगर १५ वडाकी जनस्वास्थ्य अधिकृत बस्नेतले बताइन् । जनस्वास्थ्य कार्यालय काठमाडौंकी कोरोना नियन्त्रण तथा रोकथाम फोकल पर्सन पार्वती विष्टले परिवारभित्र सीमित भएको संक्रमण टोलमा समेत विस्तार भएको बताइन् ।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पछिल्लो समय संक्रमण परिवार र टोल–टोलमा देखिन थालेको बताए । ‘पहिला सेना प्रहरीको समूहमा मात्रै थियो, अहिले एउटै परिवारका ५ जनाभन्दा बढीमा संक्रमण देखिएको छ,’ उनले भने, ‘यसले पनि संक्रमण कुन अवस्थामा छ भन्ने देखाएको छ ।’ पीसीआर गर्दा पोजिटिभ देखिने दर पनि बढेको उनले बताए ।

स्वाब परीक्षण गर्दा मंगलबार २१ प्रतिशतमा पोजिटिभ देखिएकामा बुधबार २४ प्रतिशत पुगेको उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले होम आइसोलेसन बस्ने केहीले नियम पालना नगर्दा संक्रमण परिवारमा सरेको बताए । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्