अमेरिकी विदेशमन्त्री पोम्पेओ दोहा जाने



न्यूयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ कतारको दोहा जाने बताएका छन् ।

सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् । उनले स्थानीय समयानुसार बिहीबार बिहान अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले भनेका थिए– म यहाँहरुलाई यो जानकारी गराउन चाहन्छु कि कतारको राजधानी दोहामा हुन लागेको अफगान सरकार र तालिबानबीचको शान्ति वार्ताका लागि आजै साँझ विदेशमन्त्री पोम्पेओ त्यसतर्फ जाँदै हुनुहुन्छ ।\

त्यस पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौती गरेर चार हजारमा ल्याउने योजना पनि सुनाए । त्यस्तै उनले इराकमा पनि अमेरिकी सेनाको संख्यामा कटौती गर्ने जानकारी पनि सो अवसरमा गराएका थिए ।

अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र रुपमा हिंसा गरिरहेको मुख्य विद्रोही समूह तालिबानसँग अफगान सरकारले शान्ति वार्ता गर्ने भएको समाचार यसअघि नै आएको थियो । तालिबान समूहले पनि एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पठाएको जानाएको थियो । तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि वार्ता गर्ने अन्तिम तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्