बीपी कोइराला प्रतिष्ठानमा कोरोना संक्रमित कैदीको मृत्यु



सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित कैदीको मृत्यु भएको छ ।सुनसरीको इनरुवा अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएका रामधुनी नगरपालिका ५ झुम्का बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको हो ।

मृतक पुरुष विगत एक वर्षदेखि झुम्का कारागारमा कैदीको रुपमा रहेका थिए । उनी कुन कसुरमा पुर्पक्षका लागि कारागारमा थिए भन्ने खुलेको भने छैन ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक पुरुषलाई १० दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी र श्वासप्रश्वासमा समस्यम भएपछि शुक्रबार बिहान इनरुवा अस्पताल लगिएको थियो । मृतक पुरुषमा दीर्घ रोग भने नभएको प्रतिष्ठानले जनाएको छ ।

इनरुवा अस्पतालले कोरोना संक्रमणको आशंका गर्दै रिफर गरेपछि दिउँसो १२ बजे प्रतिष्ठानको इमर्जेन्सी कक्षमा रहेको कोरोना शंकास्पदलाई राख्ने ‘ई’ एरियामा भर्ना गरिएको थियो । इमर्जेन्सी कक्षमा भर्ना हुनासाथ उनको पीसीआर परीक्षण गरिएको थियो । उनको रिपोर्ट कोरोना पोजेटिभ आएपछि कोभिड अस्पतालमा भर्ना गर्ने तयारी गर्दागर्दै शुक्रबार अपराह्न ४ बजेर ३० मिनेटमा मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित : भदौ २७, २०७७

प्रतिक्रिया दिनुहोस्