अफगान सरकार र तालिबान विद्रोही समूहबीच शान्ति वार्ता शुरु



एजेन्सी : महिनौँको ढिलाइपश्चात् अफगान सरकार तथा तालिबान विद्रोही समूहबीचको पहिलो प्रत्यक्ष शान्ति वार्ता कतारको राजधानी दोहामा शनिवार शुरु भएको छ । उद्घाटन सत्रमा उपस्थित हुन दोहातर्फ जाँदै गर्दा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ दुईपक्षबीचको वार्तालाई ‘ऐतिहासिक’ भनेका छन् ।

फेब्रुअरीमा अमेरिका र तालिबानबीच सुरक्षा समझदारी भएलगत्तै यो वार्ता हुने ठानिएको थियो । तर बन्दीहरूको आदानप्रदानबारे भएको विवादास्पद समझदारी लागू गर्ने विषयले वार्ता अगाडि बढ्न सकेन । साथै अफगानिस्तानमा हिंसा पनि जारी रह्यो । त्यहाँ चार दशकदेखिको युद्ध गतिरोधको अवस्थामा छ ।

अफगान सरकारको टोली वार्तामा भाग लिन सेप्टेम्बर ११ मा दोहातर्फ लाग्यो । यो त्यही मिति हो जुन मितिमा १९ वर्ष पहिले अमेरिकामा आतङ्कवादी हमला भएपश्चात् अफगानिस्तानमा तालिबानको शासन अन्त्य हुन पुग्यो ।

अफगान सरकारी टोलीका नेता अब्दुल्ला अब्दुल्लाले आफूहरूले ‘न्याय र सम्मानपूर्ण शान्ति’ खोजेको बताएका छन् । अन्तिम ६ जना बन्दी रिहा भएपछि विहीबार तालिबान समूहले वार्तामा भाग लिने जनाएको थियो ।

दशकौँदेखिको द्वन्द्व अन्त्य गर्ने उद्देश्य राखिएको शान्तिवार्ताको मध्यस्थता अमेरिकाले गरेको छ । अमेरिकी विदेशमन्त्री पोम्पेओले यो अति नै महत्त्वपूर्ण क्षण भन्दै यसले अफगान नागरिकलाई निर्भरताको जञ्जीरबाट फुत्काउनसक्ने बताए ।

अफगान टोली नेता अब्दुल्ला अब्दुल्लाले ४२ वर्षदेखिको उथलपुथल साम्यपार्ने समय आएको बताए । उनले वाक् स्वतन्त्रता तथा महिला अधिकारको सम्मान गरिनुपर्ने पनि बताएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार तालिबान समूहका राजनीतिक प्रमुख मुल्ला बरादरले उनको समूहले अफगानिस्तानलाई इस्लामिक प्रणालीसहित स्वतन्त्र देशको रूपमा हेर्न चाहेको बताए ।

दोहामा शुरु भएको भेटघाट अफगान सरकार तथा तालिबानका प्रतिनिधिबीचको पहिलो प्रत्यक्ष भेटघाट हो । हालसम्म विद्रोहीहरूले अफगान सरकारलाई शक्तिहीन अमेरिकी कठपुतली भन्दै वार्ता गर्न अस्वीकार गर्दै आएका थिए ।

बीबीसीले जनाए अनुसरा सन् १९७९ मा सोभियत अतिक्रमणपश्चात् शुरु भएको दशकौँ लामो हिंसालाई राजनीतिक मेलमिलापबाट अन्त्य गर्न दुई पक्षले खोजिरहेका छन् । यो कुराकानी मार्चमै सुरु हुने भनिएता पनि बन्दी आदानप्रदान विवादका कारण स्थगित भएको थियो ।

शान्तिवार्ताप्रति आशाको साथसाथै कतिपय माझ आशङ्का पनि छ । शान्तिको नाममा कतै भर्खरै हासिल गरिएको तर अझै कमजोर अवस्थामा रहेको महिला अधिकारको बलि चढाइने पो हो कि भन्ने कतिपयले ठानेका छन् । हालसम्म तालिबानले आफ्नो राजनीतिक ‘भिजन’ प्रस्ट पारेको छैन । उसले केवल इस्लामिक प्रणाली र समावेशीका कुरा गरेको छ ।

बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय सम्वाददाता लिज डुसेट भन्छिन्–‘यो एउटा लम्बेतान प्रक्रियाको सुरुवात हो जसको सफलता सुनिश्चित छैन । तर अन्त्यहीन युद्धको अवस्थाका माझ यो सुरुवात नै पनि केही चाहिँ पक्कै हो।’

प्रकाशित : भदौ २७, २०७७

प्रतिक्रिया दिनुहोस्