कोरोना संक्रमणका कारण विदेशमा २४३ नेपालीको मृत्यु



काठमाडौं : कोरोना संक्रमणका कारण विदेशमा २४३ जना नेपालीको मृत्यु भएको छ । शनिबार साँझसम्म विभिन्न १६ मुलुकमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या २४३ पुगेको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए ।

यो साता मात्रै थप ४३ नेपालीको संक्रमणको कारण मृत्यु भएको समितिका संयोजक डा.सापकोटाले बताए ।

गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

त्यस्तै यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सङ्क्रमणदर सामान्यरूपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट सङ्क्रमित छन् ।

कोरोनाका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । यस्तै नेपालमा शनिबारसम्म ३३६ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

त्यस्तै शनिबारकै तथ्यांक अनुसार नेपालमा ५३ हजार १ सय २० जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तीमध्ये ३७ हजार ५ सय २४ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७० दशमलव छ प्रतिशत हो ।

कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको मृत्यु भएको स्वास्थ्य समितिले जनाएको छ ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्