बागलुङ पहिरो अपडेट : दुईको मृत्यु, एक घाइते



बागलुङ : अविरल वर्षासँगै आज बिहान आएको पहिरोमा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ । यसअघि पहिरोमा परी वडा नं १ कुश्मिशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियोे । मृतक दुवै वृद्धाको शवपरीक्षणको तयारी भइरहेको छ ।

पहिरामा टुनिबोटका ७० वर्षीय मणिभद्र पाध्याको घाइते अवस्थामा उद्धार गरिएको छ । उनका छोरी देवी शर्मा सामान्य घाइते छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचार भइरहेको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । बागलुङ–कुश्मिशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनिबोटका तीन घरमा क्षति पुर्याएको स्थानीयवासी केदार पौडेलले जानकारी दिए । पहिरोले सो नगरपालिकामा चार घर पुरेको छ । दुई घर विस्थापित भएको नगर उप–प्रमुख लीला रानाले बताए ।

टुनिबोटमा केही पशुचौपायासमेत मरेका छन् । पहिराले तीनवटा गोठमा समेत क्षति पुर्याएको छ । वर्षा नरोकिएकाले उद्धारमा कठिनाइ भइरहेको पौडेलले बताए । पहिरोको थप विवरण आउन बाँकी छ । जैमिनी–५ बिनामारेको सिम्लेमा पहिराले एक घर नीलकण्ठ पौडेलको परिवारका अन्य ६ जना घाइते भएका छन् । बाँसको झ्याङले अँठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले जानकारी दिए । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचारका लागि पठाइएको छ । जैमिनीको दुवै वडामा गएको पहिराको मुख्य कारण सडक निर्माणका क्रममा बनाइएका संरचना भएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्