किन बढ्दै छ धनुषामा धार्मिक विवाद



जनकपुरधाम : पछिल्लो सयम प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा धार्मिक विवाद बढ्दै गइरहेको छ । धार्मिक विवाद हुँदा दुई दर्जनभन्दा बढी व्यक्ति समेत घाइते भएका छन् ।

धनुषाको नगराईन नगरपालिका–७ नवटोलीमा आइतबार शिव मन्दिरमा फोहोर फालिएको विषयलाई लिएर दुई समुदायबीच झडप भएको छ । यसअघि जनकपुरधामको रुपैठामा शनिवार दुई समुदायबीच दाहाको विषयलाई लिएर झडप भएको थियो ।

नवटोलीमा रहेको दुधहा पोखरीको डीलमा श्री नवनेश्वर नाथ महादेव मन्दिर निर्माणका लागि गरिएको शिलान्यास स्थलमा आइतबार मुस्लिम पक्षधरहरुले फोहोर फालेको विषयमा विवाद भएको हिन्दु पक्षधरहरुले बताएका छन् । तर, मुस्लिम पक्षधरहरुले दुई महिलाबीचको विवादलाई साम्प्रदायिकताको रंग दिइएको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार दुधहा पोखरीको डीलमा मन्दिर निर्माण गर्न नदिने मुस्लिम पक्षधरले अडान लिएपछि विवाद सिर्जना भएको हो ।

दुवै पक्षबीच भएको विवादमा दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा पत्थरवाजीमा हिन्दु समुदायका विनय कुमार यादव, राकेश यादव, कृष्णा यादव, सरोज यादव, संजय साफी, मकेश यादव, निभा ठाकुर रहेका छन् ।

त्यस्तै मुस्लिम समुदायबाट जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ, जमाहिर नदाफ, समसुद्दिन नदाफ घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरकोहो प्रहरी प्रवक्ता मिश्रले बताए ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्