लकडाउनमा रोजगारी गुमाउँदाको पीडा : डेरा सार्ने विषयमा विवाद हुँदा हत्या



कीर्तिपुर : घरधनीले डेरा सार्न दबाब दिएपछि भारतको मोतिहारी चम्पारण संग्रामपुरका ४२ वर्षीय शम्भु चौधरी (महतो) शुक्रबार बिहानै उठे । परिवारका सदस्यसँगै झिटीगुन्टा कसे । नजिकैको घरमा धमाधम सार्न लागे । 

दराज गह्रौँ भएकाले सार्न बाँकी थियो । सार्न भन्दै अपाह्न १२ बजे कोठा छिर्न लाग्दै थिए । घरधनी ६६ वर्षीय प्रेमकृष्ण महर्जन आँगनमै भेटिए । जम्काभेटसँगै दुवैबीच भनाभन भयो । रिसले चुर भएका प्रेमकृष्ण सरासर घरभित्र छिरे । ढोकामा लगाउने आग्लो झिके । त्यही आग्लो शम्भुको टाउकोमा बजारे । 

चोटका कारण शम्भु त्यहीँ ढले । मुखबाट फिँज निस्कन थाल्यो । घटनास्थल रमितेले क्षणभरमै भरियो । केहीबेरमै पुगेको प्रहरीले अचेत शम्भुलाई भ्यानमा राखेर कीर्तिपुर मोडेल अस्पताल पु¥यायो । तर, अचेत शम्भु फेरि ब्युँझेनन् । दिउँसो २ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे । 

घरधनीले भनेअनुसार नै डेरा सार्दा पनि किन कुटपिट गरे भन्ने बुझ्न नसकिएको शम्भुका छोरा १६ वर्षीय राहुलले सुनाए । ‘घरबेटीले डेरा सर्न पटकपटक भनेको थियो । भाडा चुक्ता गरेर हामी शुक्रबार बिहानबाटै सर्न लागेका थियौँ । घरबेटीले किन बुबालाई प्रहार गरे केही बुझ्न सकिएको छैन,’ उनले भने, ‘घरबेटीले हानेको चोटकै कारण बुबाको मृत्यु भयो । अलि चाँडो उद्धार गर्न पाएको भए उहाँ बाँच्नुहुन्थ्यो कि ।’

शम्भु २२ वर्षदेखि नेपाल बस्दै आएका थिए । कीर्तिपुरमा बसेको नै १५ वर्षभन्दा बढी भएको थियो । प्रेमकृष्णको घरमा पनि श्रीमती र तीन छोरासहित १५ महिनादेखि बस्दै आएका थिए । दुईवटा कोठा लिएका उनीहरूले चार हजार भाडा तिर्ने गरेका थिए । केही वर्ष उनी कीर्तिपुर–रत्नपार्कको रुट नम्बर २१ मा चल्ने माइक्रोबसमा सहचालक बसे । कहिले डकर्मी त कहिले तरकारीको व्यापार गर्ने शम्भु लकडाउनपछि भने बेरोजगार थिए । 

त्यसैले लकडाउन भएपछि पाँच महिना भाडा तिर्न उनलाई निकै मुस्किल परेको थियो । जसले गर्दा घरधनीले कोठा सार्न दबाब दिइरहेका थिए । ‘पाँच महिनाको भाडा तिर्न बाँकी थियो । दुई महिनाको छुट दिने भन्यो । तीन महिनाको भाडा भने बुबाले चुक्ता गर्नुभयो,’ राहुलले भने, ‘घरबेटीले डेरा सर्न पटक–पटक भन्दै आएका थिए । त्यसैले शुक्रबार हामी सर्दै थियौँ । उहाँलाई किन रिस उठ्यो, थाहै भएन ।’

अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले घटनाको अनुसन्धान भइरहेको बताए । ‘घटना सरसर्ती हेर्दा दुईबीच पानीको विषयमा विवाद भएजस्तो देखिन्छ । त्यही विवादपछि प्रेमकृष्ण उत्तेजित बने । ढोकाको आग्लो लिएर शम्भुलाई प्रहार गरे,’ एसपी राठौरले भने, ‘यद्यपि, घटनाको सूक्ष्म अनुसन्धान हुँदै छ । सत्यतथ्य त्यसपछि मात्रै आउला कि !’

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले प्रेमकृष्ण तथा उनका दुई छोरा परमेश्वर र प्रमोदलाई पक्राउ गरेको छ । थप अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्यादसमेत थप भएको छ । नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्