कोरोना संक्रमित देशलाई मलेसिया प्रवेशमा रोक



काठमाडौंः मलेसियाले ५० हजारभन्दा धेरै कोरोना संक्रमित भएका देशहरूलाई प्रवेशमा रोक लगाएको छ ।

मलेसियाले जारी गरेको सूचनामा २३ देशका नागरिकहरुलाई आफ्नो देशमा यात्रा गर्न रोक लगाएको हो । ती देशमध्ये ५ वटा मलेसियाले कामदार लिने देशहरु हुन् ।

इन्डोनेसिया, फिलिपिन्स, भारत, पाकिस्तान र बंगलादेशबाट मलेसिया कामदारको रुपमा जाने गर्छन् । मलेसियाले जारी गरेको सूचनामा नेपालको नाम भने उल्लेख छैन ।

प्रवेशमा प्रतिबन्ध लगाइएका मुलुकबाट कामदारसहित कोही पनि मानिस मलेसिया प्रवेश गर्न पाउने छैनन् । मलेसियामा सोमबारसम्म ९ हजार ८६८ जनामा कोरोना संक्रमण देखिएको छ भने १२८ जनाले ज्यान गुमाएका छन् । मलेसियामा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्