रक्सी खान नदिएको झोकमा छोराको हत्या



पर्सा : पर्साको पोखरिया नगरपालिकाका ७० वर्षीय लक्ष्मी साहले छोराको हत्या गरेका छन् । उनले आफूलाई रक्सी खान नदिएको भन्दै ३५ वर्षीय छोरा मधो साहको हत्या गरेका हुन् ।

भदौ २९ गते अर्थात सोमबार राति रक्सीले मातिएर घर आएका लक्ष्मीलाई छोराले किन रक्सी पिएको भन्दै कराउँदै थिए । यसैबीच बाबु–छोराबीच विवाद बढ्दै जाँदा लक्ष्मीले छोरामाथि चक्कु प्रहार गरे ।

साँझ सवा सात बजे भएको यो घटनामा छोरा मधो गम्भीर घाइते भए । घाइते मधोलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो ।

चक्कु प्रहार गर्ने लक्ष्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहका अनुसार साहलाई नियन्त्रणमा लिएर आवश्यक अुनसन्धान र कारबाही प्रक्रिया शुरु गरिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा पनि रक्सी पिउने विषयमा नै बाबु–छोराबीच मतभेद थियो ।

छोरा मधोले बाबुलाई पटक–पटक रक्सी नखान आग्रह गर्दै आएका थिए । उनले पसलहरुमा पनि बाबुलाई रक्सी नदिन भनेका थिए । यही विषयमा उनले छोराको हत्या गरे ।

प्रकाशित : भदौ ३०, २०७७

प्रतिक्रिया दिनुहोस्