देशभर थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संख्या ५९ हजार पाँच सय ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ४१ जनाको स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । मृत्युहुनेको कुल संख्या ३८३ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा एकैदिन ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४२ हजार नौ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।

निको हुने दर ७२ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले बताए ।

हाल सक्रिय संक्रमित १६ हजार दुई सय ४१ जना छन् । त्यसमध्ये सात हजार नौ सय तीनजना संस्थागत र आठ हजार तीन सय ३८जना होम आइसोलेसनमा बसेका छन् ।

संक्रमितमध्ये एक सय ८२ जना आइसियू र ३९ जनाको भेन्टिलेरटमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असोज १, २०७७

प्रतिक्रिया दिनुहोस्