सोमबारदेखि आन्तरिक हवाई सेवा सञ्चालन हुने



काठमाडौंः सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय बैठकले क्षमता अनुसार यात्रु राख्न दिने अनुमति दिएको हो ।

यसअघि मन्त्रिपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायु सेवा सञ्चालकहरूले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गर्न मानेका थिएनन् ।

मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई शुक्रबार पठाएको पत्रमा सिट क्षमता तोकेको छैन । मन्त्रालयले सिट क्षमता नतोकेपछि शतप्रतिशत क्षमतामा नै सञ्चालन गर्न दिनु भन्ने आफूहरुले बुझेको एक उच्च अधिकारीले बताए ।

असोज ५ गते सोमबारदेखि आन्तरिक हवाई सेवा सुरु हुने उनले बताए । व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्याउन माग गर्दै आएका थिए ।

सरकारले कोरोना महामारी सुरु भएसँगै गत चैत ११ गतेदेखि आन्तरिक उडान सेवा रोकेको थियो । सिट क्षमता अनुसार उडान गर्न पाउने भएपछि हवाई सेवा सञ्चालकले उडान शुरु गर्ने भएका छन् ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्