आन्तरिक हवाई उडानले पर्यटन व्यवसायी उत्साहित



पोखरा : मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत छ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल लामो समयको बन्दाबन्दीपछि सञ्चालनका आउन लागेको हवाई उडानले व्यवसायीमा उत्साह थपेको बताए । “व्यवसाय सोचेजस्तो हुन अझै धेरै नै समय लाग्छ तर देश तथा विदेशमा नेपाल घुम्नका लागि नेपाल खुला भयो भन्ने पुर्याउन सकेपछि आगामी दिनमा पर्यटकीय गतिविधिका सहयोग पुग्नेछ ।” उनले लामो समयको बन्दले व्यवसायीलाई धेरै तनाव थपेको र अब व्यवसाय सञ्चालन भएपछि केही मात्रामा भए पनि तनाव कम हुने विश्वास व्यक्त गरे ।”

उनका अनुसार पोखरामा हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् । त्यस्तै ट्राभल्स एजेन्सीमा एक हजार १२ तथा यातायाततर्फ ६५३ जनाले रोजगारी प्राप्त गरेका छन् । करिब तीन अर्ब लगानी भएको यस क्षेत्रमा सानाठूला गरी ४०० पर्यटकीय सवारी साधन छन् । यही असोज १ देखि पोखराका दैनिक दुई पर्यटकीय बस पोखराबाट छुटेका छन् । अहिले यात्रुको सङ्ख्या जम्मा १० देखि १५ प्रतिशतमात्र रहेको उनको भनाइ छ ।

फस्ट फ्लाइट ट्राभल प्रालिका सञ्चालक जीवनराज सापकोटाले आन्तरिक उडान सञ्चालन हुन थालेपछि बुकिङ आउन थालेको बताए । “अब आशा छ सुस्ताएको पर्यटन व्यवसाय आन्तरिक उडानसँगै केही चलायमान हुनेछ र गति लिनेछ”, उनले भने । उनका अनुसार यति र बुद्धले दिनको दुई उडान राखेको छ भने श्रीले अक्टुबर १ तारिखसम्म पोखरा उडानको सेड्युल राखेको छैन ।

त्यसैगरी पोखरादेखि भैरहवा, भरतपुरको उडान पनि अक्टुबर १ सम्म सेड्युलमा नभएको उनले जानकारी दिए । एयरलाइन्सले हवाई भाडा पनि नबढाई जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि यात्रुलाई पनि सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्