कर्णालीमा कहालीलाग्दो जीवन



कर्णाली : चिकित्सा शिक्षा सुधारसहितका विभिन्न माग राख्दै डा. गोविन्द केसीले अहिले र यसअघिको सत्याग्रह कर्णालीमा थाल्नुको कारण थियो– स्वास्थ्यका अधिकांश सूचकांकमा पछाडि रहेको कर्णालीका समस्यामाथि राज्यको आँखा परोस् । र, कर्णालीवासीका स्वास्थ्य समस्याप्रति सरकार गम्भीर बनोस् । उनले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पु¥याएर तत्काल एमबिबिएसलगायतका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने प्रमुख माग नै बनाएका छन् ।

कर्णालीमा कुल प्रजनन दर (प्रतिमहिलामा जीवित जन्म हुने बच्चाको संख्या) दुई दशमलव आठ छ । नवजात शिशुको मृत्युदर (जन्मेको २८ दिनभित्र) प्रतिहजारमा २९ छ । शिशु मृत्युदर (जन्मेको एक वर्षभित्र) प्रतिहजारमा ४७ छ । पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजारमा ५८ छ । त्यस्तै, उमेरअनुसार उचाइ नपुगेका (पुड्का) पाँच वर्षमुनिका बालबालिका ५५ प्रतिशत छन् । अस्पतालमा सुत्केरी हुने महिला ३६ प्रतिशत मात्रै छन् । दक्ष स्वास्थ्यकर्मीसँग गर्भवती सेवा पाउने १५ देखि ४९ वर्षका विवाहित महिला ७३ प्रतिशत र सबै आधारभूत खोप पाउने बालबालिका ७५ प्रतिशत मात्रै छन् । राष्ट्रिय औसत आयु ७१ प्रतिशत हुँदा कर्णालीका बासिन्दाको औसत आयु ६५.६ वर्ष मात्रै छ । 

यस्तो दयनीय स्वास्थ्य अवस्था रहेको कर्णालीमा डाक्टरहरूको दरबन्दी भने ६१ जनाको मात्रै छ । तीमध्ये पनि कार्यरत ३३ जना मात्रै छन् । उनीहरू पनि परेको वेला जिल्लामा भेटिँदैनन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वायत्त निकाय भएकाले त्यहाँ कार्यरत चिकित्सकको संख्या स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छैन । प्रतिष्ठानमा १५ विशेषज्ञ चिकित्सक र २९ जना अन्य मेडिकल डाक्टर कार्यरत छन् । 

कर्णालीका दश जिल्लामा प्रादेशिकदेखि जिल्लासम्मका गरी १५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र तीन सय ३६ स्वास्थ्य चौकी छन् । त्यस्तै, प्रदेशस्तरमा एक, जिल्लास्तरमा नौ र स्थानीय तहमा १८ वटा आयुर्वेद औषधालय छन् । देश संघीय संरचनामा गएपछि ७७ वटै जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गरिएकाले तिनीहरूको संख्या र अवस्थाबारे स्वास्थ्य मन्त्रालय अनभिज्ञ छ ।

विश्व स्वास्थ्य संगठनले प्रतिहजार जनसंख्याका लागि एकजना चिकित्सक हुनुपर्ने मापदण्ड बनाएको छ । तर, कर्णालीमा २२ हजार जनसंख्याको भागमा एक चिकित्सक पर्छ । प्रदेशमा १७ लाख ६९ हजार जनसंख्या छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार नौ सय ७८ चिकित्सकको दरबन्दी छ । तर, करिब एक हजार चार सय चिकित्सक मात्रै कार्यरत छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा कम दरबन्दी कर्णालीमा छ । नेपाल मेडिकल काउन्सिलको रेकर्डअनुसार देशमा २६ हजार तीन सय ४६ चिकित्सक उत्पादन भएका छन् । 

नेपाल चिकित्सक संघका पूर्ववरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलका अनुसार देशमा हाल करिब १५ हजार चिकित्सक सक्रिय छन् । उनीहरूमध्ये १४ सयको संख्यामा मात्रै सरकारी सेवामा छन् । बाँकी चिकित्सक प्रतिष्ठान, निजी अस्पतालसँग आबद्ध भएको उनले बताए । ‘देशभर कार्यरत चिकित्सकमध्ये पनि ८० प्रतिशत काठमाडौं, विराटनगर, भरतपुर, धरान, पोखरालगायतका सहरमा मात्रै छन् । २० प्रतिशत चिकित्सकले मात्रै दुर्गमका करिब १ करोड जनतालाई सेवा दिइरहेका छन्,’ डा. पौडेलले भने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा.मंगल रावलले एमबिबिएससहित सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न सकेमा प्रतिष्ठानलाई नमुना बनाउन सकिने बताए । ‘स्वास्थ्य क्षेत्रमा अहिले पनि निकै पछाडि परेको छ कर्णाली । तर, विगतमा भन्दा केही अगाडि पनि बढेको छ,’ उनले भने । प्रतिष्ठानलाई हाल चिकित्सा शिक्षा आयोगले एमडी÷एमएसको तीनवटा सिट दिएको छ । यसै वर्षबाट पठनपाठन सुरु हुने डा. रावलले बताए । 

कर्णालीका जनताले डाक्टरको अनुहार देख्न ठूलै संघर्ष गर्नुपर्छ : डा. प्रकाश बुढाथोकी, उपचारात्मक सेवा महाशाखा प्रमुख, स्वास्थ्य सेवा विभाग

कर्णाली प्रदेशका जिल्लामा चिकित्सक नभएपछि त्यहाँको नेतृत्व कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानका विशेषज्ञ चिकित्सक गएर जिल्लामा शल्यक्रियासहितको सेवा दिँदै आएका छन् । कर्णालीमा चिकित्सकको पहुँच सजिलो छैन । कर्णालीका जनताले चिकित्सकको अनुहार देख्न ठूलै संघर्ष गर्नुपर्छ । काठमाडौं र हुम्लामा बस्ने चिकित्सकको सेवा–सुविधा एउटै भएपछि चिकित्सक दुर्गम जान मानेका छैनन् । विगतमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि अवसर पाउने भएकाले दुर्गम जान चिकित्सकले नै मरिहत्ते गर्थे । तर, चिकित्सा शिक्षा आयोगले विशेषज्ञ चिकित्सक अध्ययनका लागि ६० प्रतिशत खुला र ४० प्रतिशत आन्तरिकको व्यवस्था गरेपछि चिकित्सक दुर्गम जान छाडे । जब कि बढी नम्बर पाइन्छ भनेर तिनै चिकित्सकले विगतमा दुर्गम रोज्थे । खुला प्रतिस्पर्धामार्फत पढ्न पाउने भएपछि सरकारी चिकित्सक सुगममै बस्न थाले । कर्णालीमा चिकित्सकको पहुँच बढाउन तीन तहको सरकारले सोच्नुपर्छ । कर्णाली दुर्गम हो, त्यहाँका जनतालाई उच्चस्तरको स्वास्थ्य सेवा दिनुपर्छ भन्ने सोच्न जरुरी छ ।

…… 

जुम्ला छाडेका डा. केसी नेपालगन्जमा 

स्वास्थ्य सेवा सुधारको माग गर्दै आठ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी ‘हिंसाको भय’ले काठमाडौंका लागि प्रस्थान गरेका छन् । सोमबार नेपालगन्ज आएका डा. केसी मंगलबार काठमाडौं पुग्दै छन् । उनलाई भेरी अस्पतालको आइसियूमा राखिएको छ ।  

सोमबार नेपालगन्ज–काठमाडौं उडान नभएपछि डा. केसीलाई भेरी अस्पतालमा राखिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । मंगलबार साढे ११ बजेको उडानबाट काठमाडौं पुग्ने योजना छ । 

डा. केसीले सत्याग्रह काठमाडौंमा पनि जारी राख्ने जनाएका छन् । उनले भनेका छन्, ‘राज्यले हिंसा र आक्रमण गर्न सक्ने लागेर सत्याग्रहलाई निरन्तरता दिने योजनासहित जुम्लाबाट काठमाडौं जान लागेको छु ।’ दुई वर्षअघि असारमा पनि उनी जुम्लामा सत्याग्रहमा बसेका थिए । सत्याग्रहमै रहेको वेला ४ साउन ०७५ मा सरकारले बलजफ्ती काठमाडौं लगेको थियो । 

डा. केसीले काठमाडौं नजाने अडान लिएका थिए भने स्थानीय बासिन्दा र विद्यार्थी उनको समर्थनमा उभिएका थिए । जसले गर्दा स्थानीय प्रशासनले बल प्रयोग गरेपछि विद्यार्थी र स्थानीय बासिन्दा घाइते भएका थिए भने अस्पतालमा तोडफोडसमेत भएको थियो । ‘यसपटक त्यस्तो अवस्था आउन नदिन डा. केसीले काठमाडौं जाने निर्णय लिनुभएको हो,’ उनका सहयोगी हिमालय कार्कीले नयाँ पत्रिकासँग भने । 

अनशन बसेको आठ दिन भए पनि डा. केसीका मागका विषयमा सरकारले सरोकार राखेको छैन । ‘स्वास्थ्यकर्मीले उहाँको स्वास्थ्य र प्रशासनले उहाँको सुरक्षाको विषयमा सकारात्मक चासो राखेका छन् । तर, मागका विषयमा सरकारबाट कुनै सरोकार राखिएको हामीलाई जानकारी छैन,’ कार्कीले भने । 

डा. केसी २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मष्टो मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिन थालेपछि स्थानीय प्रशासनले शनिबार राति धर्मशालाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सारेको थियो । उनले यसको विरोध गरेका थिए । आइसियूमा राखिएका डा. केसीको स्वास्थ्य बिग्रिँदै गएको थियो । प्रदेश र संघीय सरकारमाथि उनलाई काठमाडौं लग्न दबाब पर्दै आएको थियो भने स्थानीय सरकारले पनि त्यहीअनुसार पहल बढाएको थियो । 

डा. केसीको स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सकको निगरानीमा भेरी अस्पतालमा राख्नुपरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । आइसियूमा राखिएका डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून देखिएको चिकित्सकले बताएका छन् । जसले गर्दा उनको शरीरका प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने खतरा चिकित्सकले औँल्याएका छन् । 

आयल निगम, वाइडबडी जहाज, सेक्युरिटी प्रेस, दरबारमार्गको जग्गा, ओम्नीको औषधि खरिदलगायतका विषयमा भएका भ्रष्टाचारका विषयमा दोषीलाई कारबाही गर्न उनको माग छ । त्यस्तै कर्णाली र राप्तीका स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेजलाई व्यवस्थित बनाई सञ्चालन गर्न उनले माग गरेका छन्  । त्यस्तै प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न पनि सरकारसँग माग राख्दै उनी सत्याग्रहमा छन् । नयाँ पत्रिका दैनिकमा मानदत्त रावल र विश्वराज पछडङ्ग्याले लेखेका छन् ।

प्रकाशित : असोज ६, २०७७

प्रतिक्रिया दिनुहोस्