सीमा क्षेत्रमा माछा मार्न जाँदा ४ नेपाली भारतीयको नियन्त्रणमा



कञ्चनपुरः नेपाल-भारत सीमा क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका-४ बैवाहाका ४ जनालाई भारतीयहरुले नियन्त्रणमा लिएका छन् ।

उनीहरुले सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं.५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् ।

सीमास्तम्भ नं.७८५-२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई २ जना भारतीयले नियन्त्रणमा लिएर भारततर्फ लगेका हुन् ।

नियन्त्रणमा लिएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही २० हजार फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नं.३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गङ्गादत्त बोगटीको कमाण्डमा गएको सात जनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ । उनले भने, “भारतीयहरुले नियन्त्रणमा लिएका व्यक्तिहरुबारे खोजबिन गरिरहेका छौं ।” यसैगरी पुनर्वास नगरपालिका-८ मोतियाफाँटबाट भारतको जङ्गलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी बस्तीका ३५ वर्षीय डम्बरे सुनारलाईे हिजो साँझ नै भारतीय वन रक्षक सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ ।

डम्बरेका बुवा थले सुनारले दशगजा नजिकैको सीमास्तम्भ नं.७६६-७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिएको छ । रासस

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्