वैकल्पिक शिक्षाको नयाँ मोडेल



काठमाडौं : कोरोनाको आजसम्मको कहर हेर्दा कोरोनासँग भागेर होइन, यससँग सुरक्षित हुँदै हाम्रा दैनिक क्रियाकलाप सञ्चालन गर्नुको विकल्प छैन । विश्व स्वास्थ्य संगठनले कोरोनाको तवाही अझै दुई वर्षसम्म रहन सक्ने चेतावनी दिएको परिप्रेक्षमा व्यापार व्यवसायलगायत क्रियाकलाप उच्च सुरक्षा अपनाउँदै सुचारु गर्नु आवश्यक देखिन्छ । शिक्षा क्षेत्रमा पनि सुरक्षाका उपाय अपनाएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुको विकल्प छैन । विद्यालय तहको शैक्षिक सत्र नै खलबलिने हो कि भन्ने चिन्ताका बीच ०७७ सालको शैक्षिक सत्र खेर जान नदिई विद्यार्थीलाई अपेक्षित सिकाइ उपलब्धि हासिल गराउन कस्तो सिकाइ मोडेल उपयुक्त हुन सक्छ भन्ने विषयमा यहाँ चर्चा गर्न खोजिएको छ । 

नेपाल सरकार शिक्षा मन्त्रालयले वैकल्पिक शिक्षा पद्धतिलाई नै सिकाइको मूल आधार मानी शैक्षिक गतिविधि सञ्चालन गर्ने मार्गदर्शन सार्वजनिक गरिसकेको छ । यसका लागि उपयुक्त कार्यविधि तयार पार्न सम्बन्धित निकायलाई निर्देश गरिसकेको छ । मन्त्रालयले छलफलमा ल्याएको शैक्षिक पद्धतिमा वैकल्पिक शिक्षाका रूपमा रेडियो, टिभी र इन्टरनेटबाट दिइने अनलाइन/अफलाइन पद्धतिलाई जोड दिन खोजेको देखिन्छ । विगत तीन–चार महिनाको अनुभव हेर्दा यस पद्धतिको मात्रै अवलम्बन गरी शिक्षण/सिकाइ गर्ने हो भने यसले अधिकांश विद्यार्थीलाई समेट्न नसक्ने, समेटिएकामा पनि प्रभावकारिता अत्यन्तै न्यून हुने, तोकिएका सिकाइ उपलब्धिको चौथाइ पनि पूरा हुन नसक्ने आकलन गर्न सकिन्छ । कतिपय संस्थागत विद्यालयले गुगल क्लास, जुम आदिको प्रयोग गरी विद्यार्थीसँग दोहोरो सञ्चार सम्पर्क स्थापित गरेर केही हदसम्म सार्थक सिकाइ गरिरहेको देखिए पनि मुलुकका नगण्यबाहेक अधिकांश सामुदायिक विद्यालयमा भने यसको प्रयोग भएको पाइँदैन । 

सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीको प्रविधिमा सहज पहुँच छैन । तीमध्ये केहीले टिभी हेर्ने र रेडियो सुन्नेसम्म गरेको भए पनि एकोहोरो सञ्चार पद्धतिका कारण सुन्नै छाडेको देखिएको छ । सिंहदरबारभित्र बस्नेले सायद सामुदायिक विद्यालयको यथार्थ थाहा नपाएर हो कि, फेरि पनि यही एकतर्फी भर्चुअल सिकाइ पद्धतिलाई नै सिकाइको मूल बाटो बनाउन खोजेको देखिन्छ । विकसित देशमा यो पद्धति केही हदसम्म सफल भए पनि हाम्रो देशको परिवेशमा यस किसिमको एकोहोरो सिकाइ पद्धतिले काम गर्न नसक्ने निश्चित छ । 

हाम्रो सन्दर्भमा पौराणिक कालदेखि नै प्रत्यक्ष सिकाइ पद्धति प्रयोगमा आइरहेको छ । रेडियो, टिभीलगायत सञ्चारमाध्यमको प्रयोग गरी सिक्ने–सिकाउने भर्चुअल सिकाइ पद्धति हाम्रो देशको विद्यालय शिक्षाका लागि नौलो प्रयास हो । तसर्थ, वर्तमान अवस्थालाई मध्यनजर गर्दा मन्त्रालयले भनेजस्तो भर्चुअल शिक्षा पद्धतिले मात्र सिकाइको उद्देश्य पूरा हुन सक्ने देखिँदैन । दूर शिक्षाअन्तर्गतको भर्चुअल सिकाइ ढाँचा र प्रत्यक्ष सिकाइ ढाँचा दुवैलाई एकैसाथ लैजानुपर्ने हुन्छ । यसका लागि उपयुक्त विकल्पको खोजी हुन जरुरी छ । यस किसिमको सिकाइ पद्धति विगतमा शैक्षिक जनशक्ति विकास केन्द्रअन्तर्गत शिक्षक तालिम कार्यक्रममा सफलतापूर्वक प्रयोगमा पनि ल्याइसकिएको छ । तसर्थ, त्यही पद्धतिलाई अहिलेको विषम परिस्थितिमा उपयोग गर्नु सान्दर्भिक देखिन्छ । 

वैकल्पिक कक्षा सञ्चालनको ढाँचा : यहाँ प्रस्तुत गरिएको यो सिकाइको ढाँचा विगतमा शैक्षिक जनशक्ति विकास केन्द्रले दूर शिक्षा केन्द्रमार्फत शिक्षक तालिम कार्यक्रम सञ्चालनका लागि प्रयोगमा ल्याएको ढाँचाको परिमार्जित र अनुकूलित स्वरूप हो । यसले रेडियो, टिभी, इन्टरनेटबाट पाठ प्रसारण गर्ने अप्रत्यक्ष एवं भर्चुअल विधिलाई हाम्रो देशमा विगतदेखि प्रचलन रहेको प्रत्यक्ष सिकाइसँग मिलाएर सिकाउने तरिका दिइएको छ । यस तरिकाको सिकाइमा हरेक विद्यालयको सेवाक्षेत्रका गाउँ, टोल, समुदायलाई त्यहाँ रहेको विद्यार्थी संख्या, त्यहाँको भौगोलिक अवस्था, साधनस्रोतको उपलब्धता, सिकाउनुपर्ने विषय आदिका आधारमा आवश्यकताअनुसार विभाजन गर्न सकिन्छ । यसरी विभाजन गरिएका हरेक समुदायलाई पायक पर्ने गरी कुनै विद्यालय, सरकारी भवन, खाली घर वा सामुदायिक भवन आदिको पहिचान गरेर त्यसलाई सहजीकरण केन्द्रका रूपमा प्रयोग गर्न सकिन्छ । 

उक्त सहजीकरण केन्द्रमा कम्तीमा दुईवटा कोठा भए पनि कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्दैन । त्यस सहजीकरण केन्द्रमा विद्यालयले एकजना आधारभूत तहका शिक्षक वा कोही स्थानीय व्यक्तिलाई संयोजकको जिम्मेवारी दिएर आफ्नो सहजीकरण केन्द्रमा कोभिड–१९ विरुद्धको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाई कक्षा व्यवस्थापन गर्ने गरी जिम्मेवारी दिनुपर्छ । यस्ता सहजीकरण केन्द्रमा विषयगत रूपमा शिक्षण गर्नुपर्ने कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि कक्षागत रूपमा अलग–अलग समयमा सम्पर्क कक्षाको व्यवस्था मिलाउन सकिन्छ । 

विद्यालयले समयतालिका बनाई कुन दिन कुन विषयको शिक्षक कुन सहजीकरण केन्द्रमा जाने भन्ने तय गरी विषय शिक्षकलाई विभिन्न सहजीकरण केन्द्रमा पठाउने व्यवस्था मिलाउनुपर्छ । एउटा केन्द्रमा आफ्नो विषयको कक्षा सञ्चालन गरेपछि ती शिक्षक पायकका आधारमा अर्काे सहजीकरण केन्द्रमा सर्दै जान्छन् । कक्षा १ देखि ५ सम्मका आधारभूत तहका विद्यार्थीका लागि भने तोकिएका संयोजकले स्थानीय आधारभूत तहका विद्यालयसँग समन्वय गरी एक वा दुईजना मात्र शिक्षकले सबै विषयका कक्षा सञ्चालन गर्ने गरी सम्पर्क कक्षा सञ्चालन गर्न सकिन्छ ।

सिंहदरबारभित्र बस्नेले सायद सामुदायिक विद्यालयको यथार्थ थाहा नपाएर हो कि, फेरि पनि एकतर्फी भर्चुअल सिकाइ पद्धतिलाई नै सिकाइको मूल बाटो बनाउन खोजेको देखिन्छ

अत्यन्तै न्यून विद्यार्थी संख्या भएका आधारभूत विद्यालयको हकमा पर्याप्त स्वास्थ्य सावधानी अपनाई आफ्नै विद्यालयमा पूर्ववत् ढंगले नै पठनपाठन गराउन सकिन्छ । साना बालबालिकालाई सहजीकरण केन्द्र वा विद्यालयसम्म ल्याउने–लैजाने काम सम्बन्धित अभिभावकले नै गर्ने व्यवस्था मिलाउन कठिन छैन । कोरोना संक्रमणको अवस्था हेरी स्थानीय तहहरूले आफ्नो पालिकाभित्र भर्चुअल कक्षा, सहजीकरण केन्द्रमा आधारित कक्षा वा पूर्ववत् रूपमा विद्यालयमै पठनपाठन सञ्चालन गर्न पनि सक्ने विकल्प राज्यले नीतिगत रूपमा खुला गरिदिनुपर्छ । अहिलेको विषम परिस्थितिमा कुनै समुदायमा रहेका जुनसुकै विद्यालयका विद्यार्थी त्यहाँ सञ्चालित सहजीकरण केन्द्रहरूमा सहभागी गराउने र विद्यार्थीहरू पनि यसअघि जो, जुनसुकै विद्यालयमा अध्ययनरत भए पनि अब आफूलाई अनुकूल हुने विद्यालयमा सहज रूपले भर्ना हुन पाउने व्यवस्था गरिदिनुपर्छ ।

सहजीकरण केन्द्रमा गएर त्यहाँ शिक्षकले गर्ने काम सिकाइको सबैभन्दा महत्वपूर्ण पाटो हो । सहजीकरण केन्द्रको कक्षामा र बाहिर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार गर्ने प्रबन्ध गर्न पनि उत्तिकै जरुरी हुन्छ । हरेक सहजीकरण केन्द्रमा यो व्यवस्था गर्न कुनै गाह्रो छैन । कुनै समुदायमा बढीमा ५०–६० जनासम्म विद्यार्थी रहने भए पनि त्यो विद्यार्थी संख्यालाई कक्षागत रूपमा हरेक सम्पर्क कक्षामा बाँड्दा एउटा सम्पर्क कक्षामा बढीमा १० जनासम्म हुन पुग्छन् । तिनीहरूलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पूरा गरी सम्पर्क कक्षामा राखेर सिकाइ गर्न कुनै अप्ठ्यारो हुँदैन । सम्पर्क कक्षामा एकदेखि डेढ घन्टाको समय बाँडेर कक्षागत रूपमा विद्यार्थी राखी सम्पर्क कक्षा सञ्चालन गर्दा सबै कक्षाका विद्यार्थी एकैचोटि आएर सहजीकरण केन्द्रमा भिडभाड हुने अवस्था नै आउँदैन । विद्यार्थी पालैपालो सहजीकरण केन्द्रमा आउँछन् । उदाहरणका लागि, १० कक्षाका ८ जना विद्यार्थी १० बजे आउँछन् भने तिनीहरूले एकदेखि डेढ घन्टाको कक्षा सकाएर फर्केपछि मात्र अर्का कक्षाका विद्यार्थी आउने गरी समयतालिका निर्धारण गर्न सकिन्छ । यसरी समय व्यवस्थापन गर्ने हो भने सहजीकरण केन्द्रमा दिनभरमा ६० जनालाई कक्षा सञ्चालन हुँदा एकपटकमा बढीमा १० जना मात्र विद्यार्थी रहने हुन्छ । स्वास्थ्य मापदण्ड पूरा गर्न पनि सहज हुन्छ । 

सम्पर्क कक्षामा शिक्षण सिकाइ गर्दा शिक्षकले पाठ्यक्रम विकास केन्द्रले तोकेको पाठ्यक्रम र उपलब्ध पाठ्यपुस्तकका आधारमा एकदेखि डेढ घन्टाको एउटा सम्पर्क कक्षामा अवस्थाअनुसार एकदेखि दुईवटा पाठबारे छलफल गराई बुझाउन सक्छन् । अर्काे हप्ताको कक्षामा आउँदा घरमा गर्नुपर्ने काम दिएर पठाउन सकिन्छ । अर्काे कक्षामा गत हप्ताको पाठ पुनरावलोकन र छलफल गरी नयाँ पाठ सुरु गर्नुपर्छ । यस किसिमले जाँदा अबको ६ महिनामा तोकिएको कोर्स पूरा गर्न समस्या पर्दैन । सहजीकरण केन्द्रको एउटा कोठामा सम्पर्क कक्षा सञ्चालन गर्ने र अर्काे कोठामा सम्भव भएसम्म टिभी, इन्टरनेटबाट र सो नभए रेडियो वा रेकर्डरबाट भए पनि शिक्षा मन्त्रालयलगायत विभिन्न निकायबाट प्रसारण हुने विषयगत कक्षा हेर्ने र सुन्ने व्यवस्था मिलाउन सकिन्छ । यसो गर्दा घरमा यस्ता सुविधा नहुनेले समेत सहजीकरण केन्द्रमा त्यो सुविधा उपयोग गरी सिक्ने मौका पाउँछन् । यही मोडेलमा आवधिक परीक्षाद्वारा मूल्यांकन गर्न पनि सकिन्छ । 

यो कार्यक्रम सञ्चालन गर्दा केन्द्रीयस्तरदेखि स्थानीयस्तर र सहजीकरण केन्द्रसम्म आ–आफ्नो भूमिका प्रभावकारी ढंगले बाँडफाँड गरे प्रभावकारी हुन्छ । शिक्षकले वार्षिक कार्यतालिका र दैनिक समयतालिका तयार गर्न, आफ्नो विषयको वार्षिक तथा दैनिक शिक्षण योजना तयार र लागू गर्न, मूल्यांकनका लागि उपयुक्त साधन तयार पारी सिकाइको मूल्यांकन गर्न, विद्यार्थीलाई पाठ्यपुस्तक, अनलाइन/अफलाइन सामग्रीको प्रयोग गर्ने सही तरिका सिकाउनमा विशेष भूमिका निर्वाह गर्न सक्नेछन् । विद्यार्थीले तोकिएको सहजीकरण केन्द्रमा तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित भएर, आवश्यक स्वास्थ्य सतर्कता अपनाएर र सम्पर्क कक्षामा शिक्षकसँग आफूले नजानेका वा द्विविधा भएका विषय सोधेर सिक्न सक्नेछन् ।

विद्यालयले सहजीकरण केन्द्र संयोजकको व्यवस्था मिलाउने, वार्षिक कार्यतालिका तयार पारी सबै शिक्षक र विद्यार्थीलाई वितरण गर्ने, दैनिक समयतालिका बनाई विषयअनुसार शिक्षक खटाउनेमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । स्थानीयले पालिकाअन्तर्गतका विद्यालयसँग समन्वय गरी कार्ययोजना तयार पारेर सकेसम्म पालिकाभर एकै किसिमको सिकाइ पद्धति लागू गर्ने, जुनसुकै विद्यालयका विद्यार्र्थी भए पनि त्यहीँको सहजीकरण केन्द्रमा समेटी शिक्षण गर्ने व्यवस्था मिलाउने, सम्बन्धित विद्यालयसँगको समन्वयमा स्रोतकेन्द्र पहिचान र व्यवस्थापन गर्ने आदिमा भूमिका खेल्न सक्छन् ।

भर्चुअल शिक्षण पद्धति र प्रत्यक्ष शिक्षण पद्धति दुवैलाई मिलाएर लैजान सके महामारीले विद्यार्थीको सिकाइमा ठूलो असर पुर्‍याउन सक्दैन । अन्यथा समाधानका उपाय टालटुले, देखावटी र क्षणिक मात्र हुन जान्छन् । यो मोडेल विशेषतः पहाडी क्षेत्रमा बढी उपयोगी हुन सक्छ । 

यसरी स्थापित सहजीकरण केन्द्रलाई स्थानीय निकायले फरक ढंगले पछिसम्म पनि स्थायी सिकाइ केन्द्रका रूपमा विकास गरी निरन्तरता दिन सक्छन् । यस्ता स्रोतकेन्द्रलाई सिकाइ केन्द्रको रूपमा स्थायित्व दिन सके कोरोनाकालपछि पनि स्वयंसेवक शिक्षकको व्यवस्था गरी आफ्नो टोल समाजमा रहेका कमजोर विद्यार्थीलाई भेला पारेर सिकाउन सकिन्छ । जसबाट देशको समग्र शिक्षा क्षेत्रमै सकारात्मक मोड आउन सक्छ । यसका लागि शिक्षा मन्त्रालयले स्थानीय निकायसँग समन्वय गरी समयमै उपयुक्त पाइला चाल्नु जरुरी छ । नयाँ पत्रिका दैनिकमा रामप्रसाद सुवेदीले लेखेका छन् ।(सुवेदी नेपाल सरकारका उपसचिव हुन्) 

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने

काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो