शनिबारसम्म देशभर वर्षा, उच्चसतर्कता अपनाउन महाशाखाको अनुरोध



काठमाडौं : जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको मध्य भूभागमा न्यूनचापीय क्षेत्र रहेको छ । साथै यो न्यूनचापिय क्षेत्र पश्चिम–उत्तर–पश्चिम सर्दै गएको छ ।

विभागका मौसमविद् राजु प्रधानाङ्गका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भइरहेको छ ।

त्यसैगरी नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहेता पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको छ । आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन र चट्याङ र हावाहुरीसहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान निकालेको मौसम बुलेटिनमा आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै राती देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना जारी बुलेटिनमा उल्लेख छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १–२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । राती प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १–२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का १–२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी बुटवल तिनाउनदीमा बाढी आएर जलसतहले खतरातह पार गरेको महाशाखाले जनाएको छ । महाशाखा अनुसार तिनाउ नदी तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने भन्दै होचा स्थानका वासिन्दालाई उच्चसतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद् राजु प्रधानाङ्गले भनेका छन् ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्