नारायणगढ–मुग्लिन सडकमा पहिरो, यात्रा नगर्न अनुरोध



चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको छ ।

बुधबार बिहानैदेखि राजधानी जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडकमा पहिरो खसिरहेका कारण बुधबार रातिदेखि यातायात ठप्प भएको छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पानी पर्न नरोकिँदासम्म सो सडक हुँदै यात्रा नगर्न अनुरोध गरिएको छ ।

पहिरोका कारण बुधबार राति सवा नौ बजेदेखि नारायणगढ मुग्लिन सडक ठप्प भएको छ । इच्छाकामना गाउँपालिका–६ चार किलोमा बुधबार बिहानैदेखि पहिरो झर्न शुरु भएको थियो । दिउँसो चार बजेपछि बाटो ठप्प भएको थियो ।

साँझ सात बजेपछि एकतर्फी गाडी चले पनि पहिरो थपिएपछि राति सवा नौ बजेबाट पुनः बाटो पूर्ण रुपमा बन्द भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

निरन्तर ठूलो वर्षा भइरहेका कारण पहिरोको समस्या थपिने आकलन गर्दै चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाटो पूर्ण रुपमा खुलेको जानकारी नआउँदासम्म सो सडक हुँदै यात्रा नगर्न अनुरोध गरेको छ ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्