एक्लै बस्दै आएकी वृद्धाको हत्या, मजदुर पक्राउ



तनहुँ : तनहुँको शुक्ला गण्डकी नगरपालिका ७ कुम्ले खोलामा एक वृद्धाको विभत्स हत्या भएको छ ।

आज (शुक्रबार) ६० वर्षीया तेजकुमारी ढकालको दुवै हात खुट्टा र घाँटी बाँधेको अवस्थामा आफ्नै घरमा शव फेला परेको प्रहरीले जनाएको छ ।

शव भेटिएको १२ घण्टा बित्न नपाउँदै प्रहरीले ४६ वर्षीय शिव गौतमलाई पक्राउ गरेको छ । १५ दिनअघि मात्र कुम्लेमा मजदुरी गर्न पुगेका गोरखाको भीमसेन थापा गाउँपालिकाका गौतम शुक्रबार बिहानैदेखि त्यस गाउँबाट हराएका थिए ।

प्रहरीले उनलाई ब्यास नगरपालिका २ शहिद गेटमा हुलिया परिवर्तन गरेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । गौतम घटनास्थल भन्दा २ सय मिटर पर रहेको भैँसी फार्ममा काम गर्दै आएका थिए ।

मृतक ढकाल सानो किराना पसल चलाएर एक्लै बस्दै आएकी थिइन् । श्रीमान र छोराछोरी भएपनि उनी एक्लै बसिरहेको डीएसपी तिमल्सिनाले बताए । लुटपाट गर्ने उद्देश्यले गौतमले ढकालको हत्या गरेको प्रहरीको भनाई छ । प्रहरीले भन्यो,‘बिहीबार साँझ नै वृद्धाको हत्या भएको देखिन्छ । गौतमले केही पैसा र एक तोला सुन लुटेको पाइएको छ ।’

प्रहरीका अनुसार गौतमले हसियाँले ढकालको शरिर काटेका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग गरेको थियो । थप अनुसन्धान भइरहेको छ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्