बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या



बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ ।

बाजे बज्यैसँगै बस्दै आएकी १२ वर्षीया सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

नातिनीको ‘हत्या’ ले कामी परिवार मात्र होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ । घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन बाजे गोरख र बज्यै हाँसुसहित खिकालावासी सदरमुकाम चैनपुर आएका छन् ।

आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले सम्झना दुई बहिनीसहित बाजेबज्यैसँग बस्दै आइरहेकी थिइन् ।

बुधबार दिउँसो खाजा खाएर सम्झना करिब आधा घण्टाको पैदल दूरीमा रहेको गोठमा गाईबस्तुलाइ घाँस हाल्न डोकोनाम्लो बोकेर गएकी थिइन् । तर, उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटिएको उनका काका ईश्वर कामीले बताए ।

प्रहरीले पनि सम्झनाको बलात्कारपछि हत्या भएको आशंका गरेको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले यस विषयमा अहिले केही भन्न नसकिने बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले बताए ।

डीएसपी खड्काका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने देखिन्छ ।

अपराधमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्