फूल उन्ने धागो बुन्दै छु : कांग्रेस प्रवक्ता शर्मा



काठमाडाैं : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी प्रवत्ता भएर आफूले कुनै समुहको एकलौटी प्रचार नगरेको दाबी गरेका छन् । ताप्लेजुङमा पार्टी कार्यकर्तालाई सम्बाेधन गर्दै शर्माले फूलका थुंगा उन्ने धागोको काम आफूले गरिरहेको बताए । 

 

पार्टी भित्रको आन्तरिक विवादले कार्यकर्तालाई निरास बनाएको भन्दै जिल्लाका अगुवा कार्यकर्ताले गरेको गुनासोको जवाफ दिंदै उनले भने, ‘मैले पनि सभापतिलाई गाली गरेँ भने ताली पाउँछु, रामचन्द्रलाई गाली गरे भने पनि ताली पाउँछु, तर त्यो गर्ने पक्षमा छैन, यी दुवै थुंगालाई माला उन्ने धागोको भूमिका निर्वाह गरिरहेको छु ।’ आफू जसोजसो भएको छ, त्यो मात्रै भन्नका लागि प्रवक्ता नभएको शर्माको दाबी थियो । 

 

 नेपाल कम्युनिष्ट पार्टी आफूहरुले चाहेभन्दा चाँडै पतनको बाटोमा गएकाले माला उन्ने कामलाई तिब्रता दिने उनको भनाई थियो । कांग्रेस रुपान्तरणमा ढिलो गर्न नहुने भन्दै प्रवक्ता शर्माले त्यो अभिभारा आफूहरुले पुरा गर्नेमा कार्यकर्तालाई विश्वास दिलाउने प्रयास गरे । 

प्रतिक्रिया दिनुहोस्