अज्ञात रोगले कफी उत्पादनमा कमी



सिन्धुपाल्चोक : स्थानीय किसानले लगाएको कफीमा अज्ञात रोगले बोट सुक्न थालेपछि यस वर्ष ४० प्रतिशत मात्र उत्पादन भई ठूलो आर्थिक क्षति बेहोर्नुपर्दा किसान मर्कामा परेका छन् ।

गतवर्ष रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिकटन उत्पादन भएकामा अज्ञात रोगले यसवर्ष १३ मेट्रिकटन मात्र उत्पादन भई झण्डै रु एक करोड हाराहारीको नोक्सान भएपछि किसान मर्कामा परेका हुन् । उत्पादित १३ मेट्रिकटन कफीलाई ए ग्रेडको पार्चमेण्ट ग्रिनवीन कफी तयार गर्दा आठ मेट्रिकटन मात्र बाँकी रहेको छ । यसवर्ष रु ५० लाख मूल्य बराबरको नौ अमेरिकी डलरको भाउमा पाँच मेट्रिकटन मात्र जापान, कोरिया र अष्ट्रेलिया निर्यात भएको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले बताए ।

गत वर्ष उत्पादित ३० मेट्रिकटन कफीमध्ये १०।३ मेट्रिकटन विदेश निर्यात भई बाँकी कफी स्वदेशमै खपत भएको थियो । यसवर्ष कोभिड–१९ महामारीका कारण गएको चैत ११ गतेदेखि देशमा लकडाउन ९बन्दाबन्दी० भएकाले दुई मेट्रिकटन कफी गोदाममै थन्किएको अध्यक्ष थापाले बताए ।

जिल्लामा १२४ हेक्टर क्षेत्रमा कफी खेती गरिएको छ । गत वर्षको हिउँदमा औसत भन्दाबढी वर्षा तथा हिमपात भएकोले अत्याधिक चिसोका कारण पात झर्ने र बोट तथा दाना समेत सुकेर झर्न थालेपछि किसान चिन्तित बनेका थिए । किसानको गुनासो आउन थालेपछि सङ्घबाट फिल्ड भ्रमण गरी कृषि तथा सहकारी मन्त्रालयको बाली विज्ञान महाशाखामा नमूना सङ्कलन गरी पठाइएको थियो । उक्त महाशाखाका वैज्ञानिकले निरीक्षण गरेपछि जलवायु परिवर्तनकै कारण रोग लागेको निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्