व्यास नपामा फोहोर व्यवस्थापन सकस



तनहुँ : दैनिक ११ टन फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको तनहुँको व्यास नगरपालिकाले चार दिनदेखि फोहोर उठाउन सकेको छैन । नगरपालिका कार्यालयले वैकल्पिकरूपमा फोहोर व्यवस्थापन गर्दै आएको दुई स्थान नदीले कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा समस्या आएको हो ।

नगरपालिकाले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको थियो तर उक्त स्थान नदीले कटान गरेपछि समस्या उत्पन्न भएको हो । गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले उक्त स्थान नदीले कटान गरेपछि वैकल्पिकरूपमा माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन शुरु गरिएको थियो ।

फोहोर फ्याँक्न थालेको १५ दिन पनि नबित्दै असोज पहिलो साता परेको अविरल वर्षासँगै आएको बाढीले पुनः माथिल्लो भतेरी कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा झनै समस्या आएको हो । नगरपालिकाको वडा नं २, ३ र ४ मा गरी दैनिक ११ टन फोहोर सङ्कलन गर्दै आए पनि असोज ८ गतेदेखि फोहोर उठाउन नसकिएको नगरपालिका सरसफाई उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले फोहोर उठाउन नसक्ने अवस्था आएपछि बुधबारसम्म घरको फोहोर बाहिर ननिकाल्न स्थानीयवासीलाई आग्रह गरेको छ । नगरपालिकाले यसअघि वडा नं १० र ४ मा पर्ने माथिल्लो भतेरीमा फोहोर विर्सजन गरी कम्तीमा मङ्सिर महिनासम्मका लागि बजार क्षेत्रको फोहोर सङ्कलन गरी अस्थायीरूपमा विर्सजन गर्ने योजना बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्