सुरक्षा निकायले मागे तीन अर्बभन्दा बढी प्रोत्साहन भत्ता



काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीका लागि प्रोत्साहन भत्तास्वरुप तीन अर्बभन्दा बढी रकम माग गरिएको छ । यति धेरै रकम माग गरिएपछि सरकारले तत्काल दिन सक्ने अवस्था नरहेको भन्दै रकम निकासा रोकिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १६ गतेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । सरकारले तीन सयदेखि शतप्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । सरकारको त्यो निर्णय अनुसार स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता पाइसकेका छन् । तर सुरक्षाकर्मीले भने अझसम्म पाएका छैनन् ।

कति मागियो प्रोत्साहन भत्ता?
तीनवटै सुरक्षा निकायले तीन अर्ब रुपैयाँभन्दा बढीको विवरण पेश गरी रकम निकासाको माग गरेका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीका ५० हजार र सशस्त्र प्रहरीका ३५ हजार सुरक्षाकर्मीलाई गरी करिब सवा दुई अर्ब रुपैयाँ भत्ता वितरणका लागि निकासा पाउन अर्थ मन्त्रालयसँग माग गरेको जनाएको छ।

यस्तै, नेपाली सेनाले पनि कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि खटिएका सेनाका लागि ९६ करोड रुपैयाँ माग गरेको जनाएको छ।

के भन्छ अर्थ मन्त्रालय?
अर्थ मन्त्रालयले भने तत्काल रकम दिन नसकिने जनाएको छ । कोरोना जोखिममा रहेको अर्थ व्यवस्थामा सुधार भएसँगै निकासा गर्न सकिने तर तत्काल भने दिन सक्ने अवस्था नरहेको अर्थको जवाफ छ । मन्त्रिपरिषदले निर्णय गरेको र बजेटमा समेत व्यवस्था भए पनि आर्थिक अवस्थाका कारण तत्काल निकासा रोक्नुपरेको अर्थका एक अधिकारीले बताए । तत्काल स्रोतको अभाव छ, दिन्नौ भनेका छैनौँ, आर्थिक अवस्थामा सुधार भएसँगै निकासा दिन्छौ नै भनेका छौँ, ती अधिकारीले भने ।

कसले कति पाउने मापदण्ड बन्न बाँकी
कोरोना भाइरसका संक्रमितको खोजी, लकडाउनको कार्यान्वयन, क्वारेन्टाइन र आइसोलेसन सेन्टरको व्यवस्थापनसहित कोरोना संक्रमितको मृत्यु हुँदा शव व्यवस्थापनसमेतमा सुरक्षाकर्मीहरु खटिएका थिए । यस्तै कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा समेत सुरक्षाकर्मीहरू परिचालित थिए । तर कुन सुरक्षाकर्मीलाई कति प्रोत्साहन भत्ता दिने भन्ने मापदण्ड बन्न बाँकी नै रहेको अर्थका अधिकारीले भनेका छन् । मापदण्ड बनेपछि कसलाई कति भत्ता हो वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्