डा.केसीको माग पूरा गर्न नागरिक समाजको माग



पोखरा : नागरिक समाजका प्रतिनिधिहरुले डा. गोविन्द केसीसँग विगतमा गरेका सम्झौता इमानदारिताका साथ पालना गरी उनको अनशन अन्त्यको वातावरण बनाउन नेपाल सरकारसँग माग गरेका छन् ।

आज (सोमबार) जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ बुँदे ज्ञापनपत्र पठाउँदै डा. केसीको माग अविलम्ब पुरा गराउन माग गरेको संयुक्त देशभक्त मोर्चाका अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए ।

उनले भने,‘डा.केसीको नाजुक स्वास्थ्य स्थितिप्रति केही स्वार्थी तत्व बाहेक सबै नेपाली जनता चिन्तित छन्, त्यस चिन्तामा हाम्रो एक्यबद्धता छ, सरकारले उहाँसँग गरेका सम्झौता तथा समझदारीहरु इमान्दारीका साथ पालना नगरेको कारण १९ औं पटक अनसन बस्नु परेको हो ।’ ज्ञापनपत्रमा जनता र मुलुकको सर्वोत्तमहितका लागि जीवन अर्पण गरेका एउटा सत्याग्रहीसँग सरकारले पटक-पटक गरेका सम्झौता पूरा नगरेर जालझेल गरिनु लज्जितको विषय भएको उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यू समक्ष हाम्रो नम्र निवेदन यो रहेको छ कि डा.केसीसँग भएका विगतका सम्झौता इमानदारिताका साथ पालना गरियोस् । डा.केसीका माग अविलम्ब पूरा गरी उहाँको अनसन अन्त्य गर्ने परिस्थिति सरकारले सिर्जना गरियोस् ।’

नागरिक समाज कास्की संयोजक इन्द्रकमल मानन्धर, सिटिजन्स् जुरीका अध्यक्ष वरिष्ठ अधिवक्ता तिलक पराजुली, संयुक्त देशभक्त मोर्चाका रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारी र स्वयमंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालका अध्यक्ष शशि तुलाचनले संयुक्त रुपमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

प्रकाशितः १२ असोज

प्रतिक्रिया दिनुहोस्