धुलिखेलमा महिलालाई मास्क बनाउन भ्याईनभ्याई



काभ्रे : धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त छिन् । बिहानदेखि बेलुकासम्ममा उनले करिब ७०÷८० सम्म मास्क सिलाउनुहुन्छ । एक हप्ता अगाडिदेखि उनले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आएकी छन् ।

यसअघि उनले पुनः प्रयोगमा ल्याउन मिल्ने स्यानेटरी प्याड सिलाउने गर्थिन । पछिल्लो समयमा कोरोना कोभिड–१९ का कारण मास्कको माग बढी भएपछि अहिले मास्क सिलाउने काममा लागेकी हुन् । धुलिखेल उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा मास्क उत्पादनको कार्यलाई अगाडि बढाएपछि उनी मास्क सिलाउने काममा व्यस्त छिन् । पहिला पनि सिलाइ नै गरिरहेकी उनले उद्योग वाणिज्य सङ्घले मास्क उत्पादन गर्न सिलाइको काम थालनी गरेपछि त्यतातिर लागेको बताइन् ।

धुलिखेल नगरपालिका–७ का यशोधा श्रेष्ठ उत्पादन गरेको मास्क फिनिसिङ गर्ने र प्याकिङ गर्ने काम गर्छिन् । सबै जनाले एक हप्ताको तालीम लिएपछि निरन्तर मास्क सिलाइको काममा लाग्दै आएको उनले बताइन् । शुरुमा दिनको दुई÷तीन सय उत्पादन भएको थियो । अहिले पाँच सयदेखि ५५० थानसम्म उत्पादन भएको छ । उत्पादन भएको मास्क अस्पताल र अन्य ठाउँमा बिक्री गर्ने गर्छिन् । उनले भनिन्, “निरन्तर रुपमा १३ जनाले काम गर्दै आएका छन् ।”

धुलिखेल नगरपालिकाभित्रका विभिन्न वडाका महिला बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सिलाइमा व्यस्त हुन्छिन् । बिहान बेलुका घरको काम गर्ने र दिउँसो मास्क सिलाइ गरेर आम्दनी गर्दै आएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्