क्वारेन्टिन व्यवस्थापनमा जुट्यो स्थानीय सरकार



धादिङ : कोभिड–१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टिनलाई थप व्यवस्थित गर्न थालेका छन् । कोरोना भाइरसको बढ्दो सङ्क्रमण र नजिकिँदो चाडपर्वको कारण स्थानीय सरकारले क्वारेन्टिनको बसाइ आचारसंहिता निर्माणदेखि यसको व्यवस्थापनमा जुटेका हुन् ।

शुरुमा विद्यालय र सरकारी भवनमा क्वारेन्टिन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टिन र आइसोलेसनका लागि प्रयोग गरिएको विद्यालयको भवनहरु खाली गरिएको छ । स्थानीय सरकार नयाँ ठाउँमा बनाइएका क्वारेन्टिन र आइसोलेसनको राम्रो व्यवस्थापनमा जुटेका छन् । नयाँ ठाउँमा बन्दै गरेको क्वारेन्टिनमा धादिङका ७ वटा स्थानीय सरकारले क्वारेन्टिनमा बस्दा अपनाउनुपर्ने विभिन्न नौ बुँदे आचारसंहितासमेत जारी गरेका छन् ।

अब क्वारेन्टिन र आइसोलेसनमा बस्नेले आचारसंहिता पालना गर्नुपर्ने र यसले अवश्य सङ्क्रमणको जोखिम कम हुने खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । उनले क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन सरकारले तोकेको मापदण्डलाई पछ्याउँदै आफ्नो भूगोल र समुदायलाई हेरेर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संयोजक र एक्सन नेपालको टिम मिलेर व्यवस्थापन र बसाइ आचारसंहिताको निर्माण गरिएको छ । यसरी निर्माण भएको आचारसंहितालाई सातवटा पालिकाले अनुशरण गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्