अध्यक्षद्वय आ-आफ्नै अडानमा, आज पनि जुटेन सहमति



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे आज पनि सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष दाहाल आ-आफ्नै अडानमा अडिग रहेकाले मन्त्रिपरिषद् पुनगर्ठनको विषय पेचिलो बन्दै गएको हो ।

दुई अध्यक्षबीच दैनिक जसो छलफल हुने गरे पनि सहमति जुट्न सकेको छैन । ६ असोजको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेपछि उनीहरूबीच छलफल हुँदै आएको छ ।

उनीहरूबीच, बिहीबार, शुक्रबार, आइतबार र सोमबार पनि लगातार छलफल भयो । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा लामो छलफल भएपनि बिना निश्कर्ष सकिएको छ ।

“आजको छलफलमा पनि कुनै सहमित भएन, दुवैजना आ–आफ्नै अडानमा हुनुहुन्छ”, दाहालनिकट स्रोतले भन्यो, “छलफललाई निरन्तरता दिने भन्ने भएको छ ।” केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा ओली-दाहालबीच सहमति हुन नसकेको बताइएको छ ।

प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाईसमेत मन्त्रीमण्डमा समेट्नुपर्ने अडानमा छन् ।

पुराना कोही राख्नैपर्ने बाहेक सबै मन्त्री फेर्नुपर्ने दाहालको भनाइ छ । प्रधानमन्त्री ओली भने कार्यक्षमताका आधारमा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने पक्षमा रहेका छन् ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्