चीनसँगको नाका खोल्न ६ विषयमा सहमति



काठमाडौं : चीनसँगका नाका खोल्ने र पारवहन सम्झौता कार्यान्वयन गर्नेलगायत ६ विषयमा सहमति भएको छ ।

आज (मंगलबार) नेपाल-चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल रुपमा सम्पन्न भएको पहिलो बैठकमा यस्तो सहमति भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकले पारवहन ढुवानी सम्झौताको कार्यान्वयन, व्यापार सहजीकरण, सीमा वारपार आर्थिक क्षेत्र स्थापना, बन्द नाका खोल्ने तथा व्यापार पूर्वाधार विकास निर्माणमा सहयोग गर्ने लगायत विभिन्न ६ विषयमा सहमति भएको छ । मन्त्रालयका अनुसार दुवै मुलुकले आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति भएको छ ।

साथै नेपाल–चीन बीचका तातोपानी र रसुवागढीमा कोभिड–१९ को संक्रमणबाट बच्ने सबै उपायहरु अपनाई नाका सुचारु गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको जनाइएको छ । नेपाल र चीनबीच पारवहन-ढुवानी सम्झौताको कार्यान्वयनका लागि दुवै पक्षबाट आवश्यक पहल गर्ने पनि सहमति भएको छ ।

पारवहन ढुवानी सम्झौता, २०१६ र यसको प्रोटोकल, २०१९ को कार्यान्वयनको गर्ने र व्यापार सहजीकरणका लागि रसुवाको टिमुरेस्थित सीमा जाँच स्टेसन र सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

त्यस्तै १८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने विषयमा पनि सहमति भएको छ । त्यसका लागि नेपालमा वनस्पति र पशुजन्य वस्तुहरुको जाँच गर्न प्रयोगशाला स्थापना गर्न दुवै पक्ष सहमत भएका छन् । नेपालबाट चीन निकासी गरिने खाद्य वस्तुहरुमा लेवलिङ्ग गर्ने विषयमा पनि दुईपक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा चीनियाँ लगानी र व्यापारको लागि वातावरण विकास गर्ने, स्याफ्रुबेंसी-रसुवा सडक मर्मत सम्भार र स्तरोन्नती गर्ने, नेपाल-चीन सीमा नजिक सीमा वारपार आर्थिक क्षेत्र स्थापना गर्ने, व्यापार पूर्वाधार विकासमा सहयोग सम्बन्धी विषयमा पनि छलफल भएको जनाइएको छ ।

नेपाल–चीन बीचका तातोपानी र रसुवागढी दुईवटा अन्तर्राष्ट्रिय नाकाहरु सुचारु गर्ने सहमति भएको छ भने मुस्ताङ्गको कोराला नाकामा एकीकृत सीमा जाँच स्टेसन निर्माणको लागि चीनियाँ पक्षलाई अनुरोध गर्ने र दुईपक्षीय सीमा बिन्दु ओलाङ्चुङ्गोला र किमाथाङ्कामा व्यापार पूर्वाधारको लागि संयुक्त रुपमा सम्भाव्यता अध्ययन गर्ने पनि सहमति भएको छ ।

१७ औँ नेपाल-चीन आर्थिक व्यापार मेला र चीनमा आयोजना हुने तेश्रो अन्तर्राष्ट्रिय आयात प्रदर्शनी मेलामा नेपालले सहभागिता जनाउने पनि सहमति भएको छ । दुवै देशका ११-११ जना प्रतिनिधि रहेको उक्त कार्यदलमा नेपालतर्फबाट उक्त बैठकको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं नेपाल–चीन व्यापारको संयुक्त कार्यदलका संयोजक प्रकाश दाहालले गरेका थिए । चीनकोतर्फबाट चीनियाँ वाणिज्य मन्त्रालयको एशिया मामिला विभागका महानिर्देशक पेङ् गाङ्ले नेत्तृत्व गरेका थिए ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्