भोलिदेखि आन्तरिक हवाई उडानको कोटामा वृद्धि हुने



काठमाडौं : बिहीबारदेखि आन्तरिक हवाई उडानको कोटामा वृद्धि हुने भएको छ ।

हवाई यात्रुको दढ्दो चापका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो ।

दैनिक १८ उडानको अनुमति पाएको बुद्ध एयरले अब दैनिक २५ उडान गर्न पाउने भएको प्राधिकरणले जनाएको छ ।

यसैगरी दैनिक ११ वटा उडानको अनुमति पाएको यति एयरलाइन्सले अब दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ ।

प्राधिकरण स्रोतका अनुसार श्री एयरले भने दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो ।

प्राधिकरणले सिम्रिक र सौर्यलाई २–२ उडानको अनुमति दिएको छ । यसअघि यी दुई एयरलाइन्सलाई एक–एक उडानको अनुमति दिइएको थियो ।

दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् । यसअघि यी कम्पनीले तीन–तीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालीका प्राप्त गरेका थिए । प्राधिकरणका अनुसार यो तालिका अक्टोवर महिनाभर लागू हुनेछ ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्