बारामा १२ वर्षीया बालिका बलात्कृत



वीरगञ्ज : बाराको सुवर्ण गाउँपालिका– ५ औरैयाकी १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।असोज १ गते बेलुका भाईलाई खाना खान बोलाउन घरबाट निस्केकी उनी बलात्कृत भएकी हुन् ।

पीडित बालिकाले आफूलाई २६ वर्षका शिवपूजन यादवले बलात्कार गरेको आरोप लगाएकी छन् ।

‘साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हातमा समात्यो । को हो ? छोड्, भन्दै कराउँदा मुखमा ओढनी (सल) कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती ग-यो,’ उनले हारगुहार माग्दा उल्टै पिटाई खानुपरेको बताइन् ।

उनका अनुसार शिवपुजन नातामा काका पर्ने व्यक्ति हुन् । घटनापछि उनी फरार छन् । यो घटना मिलाउन गाउँ समाजमा चलखेल भइरहेको छ । तर, घटना बाहिर ल्याइसकेको बालिकाको परिवार न्यायको लागि लडिरहेको छ ।

पीडित बालिकाकी आमाको अनुसार डेढ लाख रुपैयाँ लिएर मिल्नू नत्र ठिक हुन्न भन्ने धम्की आएको छ । गाउँका पञ्चहरु रुपैयाँ लिएर चुपचाप बस्नु, गाउँको कुरा गाउँमै रहन्छ भनिरहेको उनले बताइन् । साथै उनले प्रहरीमा उजुरी जान समेत नदिएको बताइन् ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्