अभियुक्तकी आमाको पीडा : ‘मेरा दसधारा दूध खड गया’



बझाङ : साँझको करिब ७ बज्दै थियो । जिल्ला प्रहरी कार्यालयको मुख्य भवनअगाडि चहलपहल बाक्लिन थाल्यो । प्रहरी सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा समातिएका मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै थिए । 

सय मिटर तलतिरको सल्लाघारीमा एक दम्पती एकदमै हतास र उदास देखिन्थे । मुखमा नीलो सर्जिकल मास्क लगाएका दुवै जनाको अनुहार पनि कालोनीलोझैं थियो । रूखको फेदमा अडेस लगाएर बसिरहेका उनीहरूको छेवैमा एउटा सानो बालक खेलिरहेको थियो । नजिकैको प्रहरी कार्यालयमा भइरहेको चहलपहलबारे पत्तै नपाएझैं बूढाबूढी घरी एकटकले आकाशतर्फ हेर्थे, घरी खुइय सुस्केरा हाल्दै भुइँतिर हेरेर टोलाउँथे । प्रहरीले सार्वजनिक गर्न लागेका अभियुक्त राजेन्द्रका आमाबुबा उनीहरू नै थिए ।

बुबा वीरबहादुरको मलिन अनुहारमा विरक्ति झल्किरहेको देखिन्थ्यो । आमा लछुदेवी पनि उत्तिकै उदास देखिन्थिन् । उनी आफ्नै सुरमा अघिल्तिर खेलिरहेको सानो नातिलाई तान्दै काखमा राख्न खोजिरहेकी थिइन् ।

छोराका बारेमा केही बोल्न अनुरोध गर्दा सुरुमा वीरबहादुर तर्किए । ‘पुलिसले जाँचबुझ गर्दै छ, तपाईंसँग के बोलुँ । बोल्नैपरे ठाउँमै बोलुँला,’ यति भनेर उनी फेरि आकाशतर्फ हेर्न थाले । पत्रकारको परिचय दिँदै आफूसँग बोलेकै कारण कुनै अप्ठ्यारो नपर्नेमा आश्वस्त पारेपछि बल्ल उनी कुराकानी गर्न राजी भए । लामो सुस्केरा हाल्दै वीरबहादुरले भने, ‘सन्तानको रूपमा कंश जन्मिएछ । यसले हामीलाई कहिल्यै शान्ति दिएन ।’

त्यसपछि निकै खुलेर बोल्न थालेका उनले राजेन्द्रको अपराधकर्मबारे बेलीविस्तार लगाउन थाले । ‘यसको दामलका ३/४ जना यस्तै अपराधमा लागेका छन् । ऊ गाउँमा घर फोर्ने, दोकान चोर्ने काम गर्थ्यो । कहिले कसको, कहिले कसको अपराध गरेर आउँथ्यो,’ उनले भने, ‘कति पिटें, कति थर्काएँ, मान्दै मानेन । आज यो दिन देख्नुपर्‍यो ।’ राजेन्द्रले गरेका सानातिना अपराधमा आफूले थुप्रै जरिवाना तिर्नुपरेको तर पछिल्लो समय भने वास्तै गर्न छाडेको वीरबहादुरले बताए । उस्तै खालका साथीसँगातीले गर्दा छोरो यसरी उद्दण्ड बन्दै गएको हुन सक्ने उनले बताए ।

आठ कक्षासम्म पढेका राजेन्द्रका दुई दाजु छन् । एक जना भारतमा छन् भने अर्का गाउँमै खेतीकिसानी गर्छन् । कुराकानीका क्रममा वीरबहादुरले साउन २६ गते भएको बलात्कारपछि गरिएको मिलापत्रको घटनाबारे पनि सुनाए । उनका अनुसार त्यो दिन उनीसहित किशोरी र राजेन्द्र दिनभर पानीघट्टमै थिए । साँझ ५ बजेपछि दुवैलाई त्यहीं छाडेर उनी घर फर्किए । ‘त्यो दिन ऊ पनि समयमै घर आएको थियो ।

तीन–चार दिनसम्म यो विषयमा कसैले केही भनेन,’ वीरबहादुरले भने, ‘चौथो दिन उसको दाइ आएर मेरो बहिनीलाई यस्तो गर्‍यो, उजुरी गर्छौं भने । मैले अपराध गरेको भए प्रहरीले जाँचबुझ गर्ला, उजुरी गर भनेर पठाएको हुँ । पछि कसले हो फर्काएर मिलाउँछौं भनेछ । जरिवानाका लागि ५ सय रुपैयाँ लाग्छ भनेपछि त्यो मैले दिएको हुँ । मिलापत्रको कागज लेख्ने बालम दमाईं हो ।’

पाँच सय रुपैयाँ माग्न उनी घरमै आएपछि दिएको र कागजमा के लेख्यो र मिलाउने को–को थिए भन्ने आफूले थाहा नपाएको उनले बताए ।

छोरो राजेन्द्रको आपराधिक पृष्ठभूमिबारे बताउँदै गर्दा उनले सम्झनाको हत्यामा उसको संलग्नता इन्कार गर्न सकेनन् । उनका अनुसार त्यो दिन (गत असोज ७ गते) ३ बजे गाईबस्तु चराउन खोलातर्फ गएका राजेन्द्र बेलुका साढे ५ देखि ६ बजेबीचमा घर फर्किर्एका थिए । ‘पुलिसले पक्रेर ल्याएको छ, बयान हुँदै छ अरे,’ उनले भने, ‘उसले गरेन होला भनेर पनि म भन्न सक्दिनँ । कसैले नदेखेको घटना उसैले गर्‍यो भनेर पनि कसरी भनूँ ।’

वीरबहादुर बोल्दै गर्दा आमा लछुले बीचैमा आक्रोश पोखिन्, ‘त्यइले (त्यसैले) मारयाको हो भन्या त त्यो माइस (मान्छे) होइन, दँइत (राक्षस) हो । गर्भैमा मरिदिएको भए आज आनन्द हुन्या रहेछ । मेरा दसधारा दूध खड (खेर) गया ।’ बोल्दाबोल्दै उनले बरर्र आँसु खसालिन् । अर्कोतिर फर्किएर सुँक्कसुँक्क रुँदै भनिन्, ‘यसो (यस्तो) सन्तान कसैको कोखमा पैदा नहोस् ।’ पत्नीको आँसु र आक्रोश देखेर वीरबहादुर झन् उत्तेजित भए । आफ्नो छोराले सम्झनाको हत्या गरेको प्रमाणित भए उसलाई हदैसम्मको सजाय हुनुपर्ने भन्दै उनी कड्किए, ‘त्यसैले मारेको हो भने त्यस्तालाई बचाएर के गर्ने ?’ कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले लेखेका छन् ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।

पर्सा– भारत सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि बन्द गरेको नेपाल-भारत सीमानाकाहरु खोलेको छ

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय

काठमाडौं : राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने