धरान र बुटवलमा थप एक–एक जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत सुनसरीको इटहरी–६ का ५६ वर्षीय पुरुषको बुधबार राति पौने १० बजे मृत्यु भएका हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए । ‘प्रतिष्ठानमा ल्याउँदा नै उहाँको अवस्था अत्यन्त गम्भीर थियो । राति ९ः३० भर्ना गर्यौ, ९ः४५ बजे देहान्त भयो,’ डा. सापकोटाले भने ।

ती पुरुषमा असोज १४ गते नै बिराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएको थियो । ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिएका उनमा अन्य दीर्घ रोग नभएको पाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

यसैगरी बुटवलमा पनि थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ८० वर्षीय पुरुषको बुधबार राति नै मृत्यु भएको हो ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा बुधबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्