रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन



काठमाडौं : लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आज (बिहीबार) गजुर प्रतिस्थापन गर्न लागिएको छ ।

मन्दिरमा गजुर राखिसकेपछि रानीपोखरीमा माछाका भुरा पनि छाड्ने योजना छ ।

विसं. २०७२ सालमा गएको महाभूकम्पमा रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो ।

विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।

विज्ञ समूहका सदस्य एवं सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भुइँचालोले शिखर शैलीको मन्दिर ढलेपछि जंगबहादुर राणाले गुम्बज शैलीमा पुनर्निर्माण गराएका थिए ।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । शिलान्यास भएको करिब ५ वर्षपछि पुनर्निर्माण अन्तिम चरणमा छ भने पुनर्निर्मित रानीपोखरीको उदघाटन राष्ट्रपति भण्डारीबाटै गराउने सरकारको तयारी छ ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्