नास्पाती बिक्रीबाट वार्षिक पाँच करोड आम्दानी



काठमाडौं : दक्षिणकाली नगरपालिकामा नासतीको व्यापारबाट वार्षिक रु पाँच करोड भित्रिने गरेको छ । नास्पातीका लागि नगरपालिकास्थित छैमले नेपालमै प्रसिद्ध मानिन्छ । नगरपालिकामा नास्पातीका करिब सात हजार बोट छन् । साविकको छैमले गाविस हाल नगरपालिकाको वडा नं ८ मा सबैभन्दा बढी नास्पातीका रुख छन् । वडा नं ९, ३ र ४ मा समेत नास्पाती खेती गरिएको छ ।

नगर प्रमुख मोहन बस्नेत आधुनिक प्रविधिबाट नास्पाती खेती गरी कृषकको जीवनस्तर उठाउन नगरपालिका लागिपरेको बताउँछन् । बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷२०७६ देखि नास्पाती ब्लक निर्माण गरी खेती गर्न सहयोग गर्दै आएको छ । दुई आर्थिक वर्षसम्म वार्षिक रु ५० लाखका दरले प्रदेश सरकारबाट नास्पाती प्रवद्र्धनका लागि प्राप्त भएको कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रविकुमार केसीले जानकारी दिए ।

वार्षिकरूपमा प्रदेश सरकारले दिएजति नै स्रोत उपभोक्ताबाट समेत जुटाएर नास्पाती खेतीलाई व्यावसायिकरूपमा विकास गर्न लागिएको नास्पाती ब्लक व्यवस्थापन समितिका अध्यक्ष कविता अधिकारीले बताए । नगरपालिकामा हाल करिब पाँच हजार रोपनी क्षेत्रफलमा नास्पाती रोपिएको छ । खेत, बारीको छेउ र भित्तामा नास्पाती रोपी बीचमा भने मकै, धान, कोदो, तोरी, भटमास जस्ता अनाज लगाउने गरिएको छ ।

साउन दोस्रो सातादेखि असोज दोस्रो सातासम्म यहाँ नास्पाती पाइन्छ । नास्पातीका लागि प्रसिद्ध स्थान छैमले भए पनि पहिले बजार रहेको स्थान फर्पिङ (शिखरापुर) भनी प्रचारप्रसार गरिएकामा वडा नं ८ का सदस्य कुमार बलामीको आपत्ति छ । वडा नं ८ मा नास्पाती र वडा नं ९ मा लप्सीको खेती उल्लेख्य हुने गरेको छ । लप्सीको समय भने कात्तिकपछि शुरु हुन्छ । करिब दुई महिनासम्म लप्सीको व्यापार हुने गरेको छ । वाग्मती प्रदेश सरकारले वडा नं ९ मा लप्सी ब्लक व्यवस्थापनका लागि पनि रु ५० लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्