पर्सामा लगाइएको निषेधाज्ञा पूर्णरुपमा हट्यो



पर्सा : बढ्दो कोरोना सक्रमण नियन्त्रण गर्न साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मना तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बजारलाइ थप खुकुलो बनाउदै वीरगञ्जमा विगत ६८ दिनदेखि जारी निषेधाज्ञालाई पूर्ण रुपले हटाउने निर्णय गरेको हो ।

भदौको दोश्रो साता देखि निषेधाज्ञालाई खुकुलो बनाइएपनि प्रशासनले असोज १५ गतेसम्म निषेधाज्ञा जारी नै राखेका थिए । सक्रमित न्यूनीकरण सहित आजदेखि निषेधाज्ञा पूर्णरुपले अन्त्य गरिएको हो ।

स्थानिय प्रशासनले बिहिबार सूचना जारी गर्दै वीरगञ्जको मुख्य बजारमा सञ्चालित पसलहरु अब साँझ ६ बजेसम्म खुल्ने छन् । यसअघि बिहान ११ बजेदेखि ५ बजेसम्म मात्र पसल सञ्चालन गर्ने अनुमति दिइएको थियो । प्रशासनले दिएको जानकारी अनुसार अब शनिबारपनि वीरगन्ज बजार खुल्ने छ ।

फलफुल र तरकारी बजारको हकमा भने पुरानै नियम कायम रहेको छ । फलफुल र तरकारी व्यवसायीहरुले प्रशासनले तोकेको स्थानमा बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने जारी गरिएको सूचनामा उल्लेख छ । सडक पेटी र फुटपाथमा भने कुनै किसिमको पसल सञ्चालन गर्न भने पाउने छैन ।

त्यसैगरी समाजिक दुरी कायम गरि थप सक्रमण न्यूनीकरण गर्नको लागि सदरमुकाम वीरगन्जमा रहेका सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवाहरु अब स्थानीय तहका बासिन्दा अनुसार दिइने छ ।

वीरगञ्ज महानगरपालिकाका बासिन्दाहरुका लागि सरकारी कार्यालयहरुले आइतबार र सोमबार सेवा प्रवाह गर्ने छन भने पोखरिया, पर्सागढी र बहुदरमाई नगरपालिकाका बासिन्दाहरुकाले मंगलबार र बुधबार सेवा लिन सक्ने छन् ।

यस्तै जिल्लाका अन्य पालिकाहरुका बासिन्दाहरुले बिहीबार र शुक्रबार सेवा प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले बताए । उनले आवश्यकताको आधारमा सरकारी कार्यालयहरुले सेवाको मोडालिटी परिवर्तनपनि गर्न सक्ने जानकारी दिए ।

कोभिड(१९ को जोखिम कायमै रहेको बेला नेपालीहरुको महान पर्व वडा दशैं, तिहार र छठ पूजा नजिक आईरहेको कारण सबैलाई आ-आफ्नो स्थानमा रहेर पूजा, अर्चनागरी चाडपर्व मनाउन र सार्वजनिक स्थल तथा बजारमा अनावश्यक भिडभाड नगर्न प्रशासनले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्