सुदूरपश्चिम प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित



धनगढी : आज (बिहीबार) सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका ४ वटा प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार धनगढी उप–महानगरपालिका वडा नं.२, ३, ४ र ५ का एक–एक जना, गौरीगंगा नगरपालिका वडा नं.११ का एक जना, चुरे गाउँपालिका वडा नं.४ का एकजना, गोदावरी नगरपालिकाका दुईजना र भजनी नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको बेलौरीका एकजना, पुनर्वासका दुई जना, महाकालीका एक जना, डडेल्धुराको परशुरामका एक जना र डोटीको बडिकेदारका दुई जनामा संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ९३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको तुर्माखाद गाउँपालिकाका ५ पुरुष र एक महिला गरी ६ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको बताए ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाका अनुसार बिहीबार पुष्टि हुनेमा सुर्नया गाउँपालिका वडा नं.५ का ३३ वर्षीय पुरुष रहेका छन् ।

जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ६५ जनाको कोरोना परीक्षण भएकोमा ५ जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भने पछिल्लो २४ घण्टामा ५५ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय ७० पुगेको छ भने ६ हजार एक सय बढीले कोरोना जितेका छन् । २२ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : १५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्