कैलालीका ९१ सहित सुदूरपश्चिममा १२० जना कोरोना संक्रमित थपिए



धनगढी : सुदूरपश्चिम प्रदेशमा आज (शुक्रवार) १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । जसमा कैलालीका मात्रै ९१ जना रहेका छन् ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ८२ जनाको कोरोना परीक्षण गर्दा थप ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढी उप-महानगरपालिका ३६ जना, गोदावरी नगरपालिका ३२ जना, गौरीगंगा नगरपालिकाका १३ जना, जानकी गाउँपालिकाका ५ जना, घोडाघोडी नगरपालिकाका चार जना र बर्दगोरिया गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बेलौरी, पुनर्वास र झलारीका एकरएक जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार दार्चुलाको ब्यासका थप एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

उता दार्चुला र बैतडीका थप १७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४४ जनाको परीक्षण गरिएकोमा दुवै जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको हो । दार्चुलाको महाकाली नगरपालिकाका ११ पुरुष र तीन महिला गरी १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै लेकम गाउँपालिका, बैतडीको पाटन नगरपालिका वडा नं.३ र सिगास गाउँपालिकाका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठका अनुसार डोटीको सायल र आदर्श गाउँपालिकाका २-२ जना र अछामको चौरपाटी र कमलबजारका १-१ जनामा संक्रमण पुष्टि भएको हो ।

डोटीमा पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ९० पुगेको छ ।

प्रकाशितः १६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्