रौतहटका दुई छुट्टाछुट्टै स्थानमा दुई बालिकाको मृत्यु



रौतहट : रौतहटका दुई छुट्टाछुट्टै स्थानमा दुई बालिकाको मृत्यु भएको छ ।

बृन्दावन नगरपालिकाको उखुबारीमा शुक्रबार साँझ गढीमाइ नगरपालिका–१ समनपुरका सिताराम साहको १३–१४ वर्षकी सन्जा कुमारी साहको शव फेला परेको छ ।

वृन्दावन नगरपालिका–४ पलटुवाटोल मामाघरमा बसेकी सन्जाको सोही गाउँका होस नारायण यादवको उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी तथा प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए । बालिकाको हत्या गरेर उखुबारीमा फालेका हुन सक्ने स्थानीयको आशंका छ ।

यस्तै रौतहटकै यमुनामाई गाउँपालिका–२ भेडियाहीका राम शंकर राय यादवकी १२ वर्षीया छोरी ममिता कुमारी यादवको खोलामा डुबेर मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित : असोज १७, २०७७

प्रतिक्रिया दिनुहोस्