प्रधानमन्त्रीका ३ सल्लाहकार र एक स्वकीय सचिवमा कोरोना



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका ३ सल्लाहकार तथा एक स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण देखिएको हो ।

‘हाम्रो अवस्थामा सामान्य छ, होम आइसोलेसनमा बसेका छौँ’, प्रेस सल्लाहकार थापाले भने,‘ ३ जना सल्लाहकार र एक स्वकीय सचिवमा संक्रमण देखिएको हो ।’ शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो ।

थापाले भने,‘केही सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ । सबैलाई जानकारी आएकाले यति नै भन्ने यकिन छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको भने शुक्रबार पीसीआर परीक्षण गरिएको छैन । ‘बेलाबेलामा उहाँको पनि कोरोना परीक्षण हुने गरेको छ तर शुक्रबार भने भएको छैन’ थापाले भने ।

आफूहरु संक्रमित भएको जानकारी तीनै सल्लाहकारहरुले सामाजिक सञ्जालमार्फत पनि दिएका थिए । उानीहरुले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन् । गत साता प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्या सिंह कोरोन संक्रमण भएकी थिइन् ।

प्रकाशित :१७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्