बाँकेमा जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित महिलाको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको छ । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आइतबार बिहान ४ बजे ३० मिनेटमा मृत्यु भएको हो ।

कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी उनले एक छोरा र एक छोरी अर्थात् जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो ।

साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा थिइन । उनको उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित : असोज १८, २०७७

प्रतिक्रिया दिनुहोस्