संक्रमित ट्रम्पको विवादित कार्य, अस्पतालबाट बाहिर आएर समर्थकलाई अभिवादन



एजेन्सी : कोरोना संक्रमण भएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक पटक फेरी विवादित बनेका छन् ।

शुक्रबार कोरोना संक्रमण भएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचारका लागि भनाए भएका राष्ट्रपति ट्रम्पले अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । उनको यो कार्य विवादित बनेको हो ।

संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले मास्क मात्रै लगाएर गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका हुन् ।

गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नरहेको भनी उनको गतिविधिको आलोचना भएको छ ।

यता ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ । तर स्वीकृति दिने डाक्टर को हुन् भन्ने बारे नखुलाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनालाई गम्भीर रुपमा नलिएको तथा अधिकांश समय छल मात्रै भन्ने गरेका ट्रम्पले भाइरसबारे आफूले धेरै जानकारी पाएको बताएका छन् । उनले भिडियो सन्देशमा आफूले भाइरसबारे धेरै थाहा पाएको बताएका हुन् ।

ट्रम्पका डाक्टरले यसअघि ट्रम्पको स्वास्थ्य सुधारको क्रममा रहेको र सम्भवतः सोमबार डिस्चार्ज हुन सक्ने बताएका थिए ।

प्रकाशित : असोज १९, २०७७

प्रतिक्रिया दिनुहोस्