‘कोरोना महामारीमा कसरी मनाउने दशैँ’



काठमाडौं : हिन्दुहरुको महान चाड दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढ्दै गएको छ ।सरकारले लामो दूरीको सवारीसाधन सञ्चालनमा लगाएको प्रतिबन्ध असोज महिना शुरु भएदेखि हटाएसँगै एउटा जिल्लाबाट अर्को जिल्ला जाने क्रम बढेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ ।

दशैँका लागि प्रायः मानिसहरू घर जाने चलन रहिआएकोमा सामान्य अवस्थामा जस्तै यसपालि पनि आउजाउ धेरै भए कोरोना संक्रमण अझ बढी फैलिन सक्ने भन्दै जनस्वास्थ्यविद् तथा संक्रमक रोग विशेषज्ञले सचेत गराएका छन् ।

एकथरीले अहिले कोरोना महामारीको प्रतिकूल समयमा चाडवाड मनाउने तरिकामा ‘लचिलो’ हुनुपर्नेमा जोड दिएका छन् भने अर्कोथरीले दशैँ मनाउन घर जाने मानिसहरूलाई जनस्वास्थ्यसम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्न सुझाएका छन् ।

सरकारले यस वर्षको दशैँ ‘जहाँ छौ, त्यही दशैं मनाउन’ सर्वसाधारणलाई अपिल गरेको छ । यस वर्ष कात्तिक १ गते घटस्थापना छ भने कात्तिक १० गते विजयादशमी परेको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने–‘दशैँ अर्को वर्ष पनि आउँछ । यस पटकको दशैँ हामी जहाँ छौँ, त्यहीँ मनाउ भन्ने जानकारी गराउन चाहन्छौँ ।’

जनस्वास्थ्यसम्बन्धी मापदण्ड उल्लंघन गर्नेहरूलाई जरिवाना गर्ने र जरिवानाको रकम तोक्नेगरी प्रस्ताव पेस गरिसकिएको पनि प्रवक्ता गौतमले जानकारी गराए ।

त्यसोत चाडवाडका बेला एक ठाउँबाट अर्को ठाउँमा हुने मानिसहरूको आउजाउ तथा एकअर्काबीच घुलमिल हुने हुँदा कोरोना संक्रमण फैलिने जोखिम उत्तिकै रहेको विज्ञहरू बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बीबीसी न्यूज नेपालीसित भने–‘सहरबाट मानिसहरू गाउँगाउँ पुग्ने भएपछि संक्रमण पनि उनीहरूसँगै अझ धेरै पुग्ने खतरा छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आइतवारसम्म काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सिराहा, चितवन र रूपन्देही गरी सात जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचाररत छन् भने मनाङ, मुस्ताङ र डोल्पा गरी तीन जिल्लामा शून्य संक्रमित छन् ।

संक्रमक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्–‘जुन ठाउँमा पहिला संक्रमण बढेर अहिले कम भइसकेको छ मानिसहरूको आवतजावतसँगै ती ठाउँमा अब फेरि संक्रमण बढ्ने सम्भावना हुन्छ ।’

दीर्घरोगी, ज्येष्ठ नागरिक लगायतका मानिसहरूमा संक्रमण सर्ने जोखिम अरूलाई भन्दा बढी भएको उनी बताउँछन् ।

सामान्यतया दशैँमा परिवारका सदस्यहरू भेला हुने र साथीभाई तथा आफन्तकहाँ गएर मानिसहरू रमाइलो गर्ने गर्छन् ।

स्वास्थ्य प्रणालीले धान्न सक्नेभन्दा बढी संक्रमित भए फेरि लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्रालयले दोहो-याउँदै आएको छ ।

सक्रिय संक्रमित व्यक्तिहरूको संख्या २५ हजार नाघेमा लकडाउन गर्न मन्त्रालयले सुझाव दिइसकेको प्रवक्ता डा. जागेश्वर गौतमले बताउँदै आएका छन् ।

स्वस्थ व्यक्तिहरूको हिँडडुलमा राज्यले रोक लगाउन नसक्ने जनस्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास रहेको पृष्ठभूमिमा दशैँको बेला आत्मानुशासन नै प्रभावकारी हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. मरासिनीको सुझाव छ ।

‘दशैँ टीकाटालोसँग मात्रै सम्बन्धित कुरा होइन । परिवारका सदस्यका लागि नयाँ लुगा लगिदिने हुन्छन्, ऋण तिर्नेहरूले ऋण लिएर आफैँ आउँछु भनेका हुन्छन् । दशैसँग यी र यस्ता धेरै पक्ष जोडिएका हुन्छन् ।’

‘बरु बाहिरबाट घर गएपछि परिवारका सदस्यसँग कसरी दूरी राख्न सकिन्छ, जनस्वास्थ्यसम्बन्धी अरू मापदण्ड कसरी पालना गर्न सकिन्छ लगायतका कुरामा मानिसहरूले ध्यान दिँदा संक्रमणको जोखिम कम गर्न सकिन्छ,’ मरासिनीले थपे ।

तर यस पटक भिडभाड र जमघटलाई सकेसम्म पन्छाउन सके सबैका लागि हितकर हुने संक्रमक रोग विशेषज्ञ डा. अनुप सुवेदीको सुझाव छ ।

‘चाडवाडका बेला तपाईँले आफ्नै मान्छे र आफन्तलाई जोखिममा पार्न सक्नु होला । घर नगई फोनलगायतका माध्यमबाट पनि मान्यजनबाट आशीर्वाद लिन सक्नुहुन्छ ।’

तर प्रत्यक्ष रूपमा सहभासरिक भएको खण्डमा अहिलेको प्रतिकूल समयमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ ।

‘भेटघाट गर्दा कोठामा नभई खुला ठाउँमा भेट्ने, टिका लगाउनुअघि र लगाइसकेपछि राम्ररी हात धुने अथवा स्यानिटाइजरको प्रयोग गर्ने, टिका लगाउने एवम् थाप्ने दुवैले मास्क लगाउने जस्ता कुराको पालना गर्दा सबैलाई राम्रो हुन्छ,’ सुवेदीले थपे ।

प्रकाशित : असोज २०, २०७७

प्रतिक्रिया दिनुहोस्