भारतमा कोरोना संक्रमित र मृत्युदर घट्यो



नयाँदिल्ली : भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड– १९) संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ ।

यस अवधिका जम्मा ६१ हजार दुई सय ६७ जना मात्रै संक्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) जानकारी गराएको छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर मृत्यु हुनेको संख्या आठ सय ८४ रहेको छ भने अहिलेसम्म कुल एक लाख तीन हजार पाँच सय ६९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यस महिना (अक्टोबर)को पहिला ५ दिनको तथ्यांक हेर्दा भारतमा (कोभिड–१९) संक्रमण तथा संक्रमितको मृत्युदरमा सामान्य कमी देखिएको छ ।

१ अक्टोबरमा ८६ हजार आठ सय २१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक हजार एक सय ८१ जनाको मृत्यु भएको थियो । यस्तै २ अक्टोबरमा संक्रमितको संख्या करिब पाँच हजारले कमी आई ८१ हजार चार सय ८४ भएकोे थियो । मृत्युमा पनि करिब एक सयले कमी आई एक हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन संक्रमितको संख्या अघिल्ला दिनको तुलनामा थप कमी आई ७९ हजार चार सय ७६ कायम भएको थियो भने मृतकको संख्या एक हजार ६९ मा झरेको थियो । ४ अक्टोबरमा ७५ हजार आठ सय २९ संक्रमित र नौ सय ४० जनाको मृत्यु भएको थियो । ५ अक्टोबरमा ७४ हजार चार सय ४२ संक्रमित र नौ सय तीन संक्रमितको मृत्यु भएको तथ्यांक रहेको छ ।

त्यस्तै, भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४ सय ९० जना (कोभिड-१९) संक्रमणमुक्त भइसकेका छन् भने ९ लाख १९ हजारभन्दा बढी व्यक्ति संक्रमित रहेको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद (आइसिएमआर) का अनुसार भारतमा मंगलबारसम्म कुल ८१ लाख ७१ हजार ७ सय ९७ व्यक्तिको (कोभिड-१९) परीक्षण भएको छ । योमध्ये सोमबार मात्र १ लाख ८९ हजार ४ सय ३ व्यक्तिको (कोभिड-९) परीक्षण भएको छ ।

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्