डा.केसीको स्वास्थ्य अवस्था गम्भीर, चिकित्सकहरु प्रदर्शनमा



काठमाडौं : २४ दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर भएपछि चिकित्सा शिक्षा सुधारको माग राख्दै चिकित्सकहरु प्रदर्शनमा उत्रेका छन् ।

केसीको स्वास्थ्य जाँच गरेका डा.सुवास आचार्यका अनुसार रक्तचाप घटेर ७०-५० मा पुगेको छ । आचार्यको टोलीले यसअघि नै केसीलाई आईसीयूमा भर्ना गर्न सुझाव दिएको थियो ।

डा. केसीको उपचारमा संलग्नत आन्तरिक टोली अहिले परामर्शमा रहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् । सरकारले आजसम्म पनि वार्ता टोली गठन गरेको छैन । उनले आईसीयूमा उपचार गर्न अस्वीकार गरेका थिए ।

मंगलबार उनको स्वास्थ्य अवस्था बुझ्न सरकारका तर्फबाट शिक्षा सचिवसहित ३ जनाको टोली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेको थियो । टोलीले डा. केसीसँग सत्याग्रह रोक्न आग्रह गरेको थियो । उनीहरुले सरकारका तर्फबाट औपचारिक रुपमा वार्ता टोली गठन नभएको जानकारी पनि गराएका थिए तर, डा. केसीले अनशन जारी राख्ने बताएका थिए ।

चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर डा. केसीले २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका-६ रानीचौरस्थित बाबिरा मष्ट मन्दिरबाट अनशन शुरू गरेका थिए । सरकारले डा. केसीका माग पुरा नगरेको र उनीसँग संवाद गर्न वार्ता टोलीसमेत गठन नगरको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेशनल रेजिडेन्ट डक्टर्स एसोशियसनले २० असोजमा विज्ञप्ती जारी गर्दै अनिश्चितकालका लागि विरोधका कार्यक्रम घोषणा गरेको थियो । एसोशियसले दैनिक बिहान १० देखि १२ बजेसम्म त्रिवि शिक्षण अस्पतालको प्रांगणमा भेला भएर धर्ना दिने र कोणसभा गर्ने, सबै आवासिय चिकित्सकले बहिरंग सेवा बहिस्कार गर्ने, कोभिड, इर्मेजेन्सी र इन्डोर सेवामा कालोे पट्टी बाधेर काम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यहीअनुसार उनीहरुले आजदेखि विरोधका कार्यक्रम शुरु गरेका छन् । डा. केसीको सर्मथनमा देशका विभिन्न ठाउँमा प्रर्दशन भइरहेको छ ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्